काठमाडौँ, पुस १६ गते । नेपालप्रेमी अमेरिकाका पूर्वराष्ट्रपति जेम्स अल कार्टर जुनियर (जिमी कार्टर) को एक सय वर्षको उमेरमा आइतबार अमेरिकामा निधन भयो । उहाँ सन् २००२ को नोबेल शान्ति पुरस्कार विजेता हुनुहुन्थ्यो । अमेरिकाको जर्जियास्थित प्लेन्स गाउँमा रहेको आफ्नै घरमा कार्टरको निधन भएको हो ।
शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा हरेक देशको शासन चल्नु पर्छ भन्ने मान्यता राख्नुहुने कार्टरको नेपालसँगको निकै पुरानो साइनो छ । उहाँ पहिलो पटक सगरमाथा आधार शिविर क्षेत्र (बेस क्याम्प) मा पैदलयात्रा गर्न सन् १९८५ मा नेपाल आउनुभएको थियो । नेपालको प्राकृतिक विविधतायुक्त सुन्दरतामा उहाँ मोहित हुनुभयो । त्यसपछि उहाँ बारम्बार नेपाल आउनुभयो । पहिलो पल्ट नेपाल आउनुहुँदा करिब ६० वर्षको हुनुहुन्थ्यो । सगरमाथाको आधार शिविर नपुग्दै उहाँका सुरक्षा गार्डहरू सबै लेक लागेर थलिए । कार्टर भने साहसका साथ सगरमाथाको बेसक्याम्प पुग्नुभयो ।
उहाँसँगै तत्कालीन शिवपुरी राष्ट्रिय निकुञ्ज र नागार्जुनमा चरा हेर्न पुग्नुभएका संरक्षणकर्मी राजेन्द्र सुवालले आफ्नो वास्तविक उमेरभन्दा जवान युवाको जस्तो उहाँको गतिविधि हुने गरेको स्मरण गर्नुभयो । सन् २००७ मा शिवपुरीमा चरा हेर्न पुग्दा कार्टर ८२ वर्षको वृद्ध हुनुहुन्थ्यो । सुवाल सम्झनुहुन्छ, “नेपाललाई अति माया गर्ने मान्छे, डाँडामा पनि दौडनुहुन्थ्यो, कहिलेकाहीँ लड्नुहुन्थ्यो, फेरि उठेर कुद्नुहुन्थ्यो । दुर्लभ चराचुरुङ्गी र वनस्पतिको अध्ययनमा रुचि थियो उहाँको ।”
सुवालका अनुसार नेपालका चराहरूको पुस्तक उहाँको हातमै हुन्थ्यो । पोखरी देखेपछि माछा हेर्न र समात्न बस्नुहुन्थ्यो । चरा देखेपछि कुन हो भनेर पत्ता लगाउन किताब पल्टाउँदै तत्काल पहिचान गर्नुहुन्थ्यो । “घरमा खाना खाँदा बरन्डामा बसेर चरासँगै खान्छु, नयाँ चरा आयो भने त्यसको रेकर्ड राख्छु,” कार्टरको भनाइ उद्धृत गर्दै सुवालले सुनाउनुभयो । चराका लागि बाकस बनाएर राख्नुभएको थियो । कार्टरको खाना खाने बेला भयो भन्ने थाहा पाएपछि चराहरू आँगनमै आइपुग्थे । चरा मात्र होइन, उहाँ मौरी पालेर आफैँ मह काढ्नुहुन्थ्यो । उहाँलाई शिवपुरीको प्रकृतिसहितको स्वच्छ हावा निकै मन पथ्र्यो । त्यसैले त्यहाँ पुगेपछि उहाँको छुट्टै फुर्ती आउँथ्यो ।
उहाँ नेपाल आउनुको अर्को कारण सन् २००५ मा नेपालमा शान्ति सम्झौता भएपछिको सङ्क्रमणकालीन अवस्था थियो । शान्तिप्रेमी कार्टरले नेपालमा सशस्त्र द्वन्द्वको अन्त्य हुनै लाग्दा सन् २००४ मा पर्यवेक्षक संस्थाका रूपमा कार्टर सेन्टर स्थापना गर्नुभएको थियो । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन अमेरिकी सरकारले माओवादी नेतृत्वलाई आतङ्ककारी घोषणा गरेको अवस्था थियो तर पूर्वराष्ट्रपति कार्टर सबै पक्षलाई राजनीतिको मूलधारमा ल्याउनु पर्छ भन्ने धारणा राख्नुहुन्थ्यो । त्यसैले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमाले अध्यक्ष माधवकुमार नेपाल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को
संयुक्त निमन्त्रणामा समन्वयकारी भूमिकाका लागि उहाँ नेपाल आउनुभएको थियो ।
त्यो बेलाको संविधान सभाको निर्वाचनका लागि तोकिएको मिति दुई पटक स्थगित भइसकेको थियो । दलहरूबिच सहमति जुटाउने मियोका रूपमा उहाँ आउनुभयो । “असहमति बढेको छ तर केही छैन, कुरा गरौँला मिलिहाल्छ,” उहाँ भन्नुहुन्थ्यो । नेपालमा पूर्ण प्रजातान्त्रिक रूपमा निष्पक्ष निर्वाचन होस् भन्ने चाहनुहुन्थ्यो ।
“नेपाल मात्र होइन, अमेरिकामा र अन्य देशमा पनि सङ्क्रमणकालमा गाह्रो र गडबड हुन्छ, त्यसमा आत्तिनु हुँदैन, सबै मिलेर सल्टाउनु पर्छ,” उहाँको भनाइ सुवालले सम्झनुभयो । उहाँले संरक्षण र प्रकृति नियाल्ने क्रममा अफ्रिका, मङ्गोलियादेखि एसियाका संरक्षित वन क्षेत्रको भ्रमण गरिसक्नुभएको थियो ।
सन् २००७ मा दुई पटक नेपाल आउनुभएका कार्टरसँग वरिष्ठ चराविद् डा. हेमसागर बरालको भेट फूलचोकी डाँडामा भएको थियो । पूर्वराष्ट्रपतिले अमेरिकाबाट फोन गरेर चरा हेर्ने भन्नुभएपछि बराल फुरुङ्ग पर्नुभयो । राजनीतिक भेटवार्ता र भलाकुसारीबाट बचेको समय नेपालका वनपाखा र चराका माझ उहाँले बिताउनुभयो ।
बिहान ५ बजेदेखि चरा हेर्ने भनेर साढे ४ बजे बराल फूलचोकी पुग्नुभयो । बराल सम्झनुहुन्छ, “निकै सौम्य र शालीन व्यक्तित्वका रूपमा आफैँ कोट्याई कोट्याई सोध्नुहुन्थ्यो, म भने बढी बोल्छु कि भनेर निकै डराउँथे । उहाँ भने आफैँ खाना पस्कने खुवाउने गर्नुहुन्थ्यो ।”
फूलचोकी डुल्दा चराको कुरा, संरक्षणको कुरा, अफ्रिका र एसियाको कुरासँगै नेपालमा सम्भावनाका धेरै कुरा भएको उहाँले बताउनुभएको थियो । “धेरै देखेपछि यस्तो वर्ड वाचिङ कहिले भएको थिएन, रमाइलो भयो, भोलि पनि घुम्ने” भन्नुभएको बरालले स्मरण गर्नुभयो । ‘वियोन्ड द ह्वाइट हाउस’ लगायत धरै पुस्तक कार्टरले लेख्नुभएको छ । सन् २०१३ मा दोस्रो संविधान सभा निर्वाचन र स्थानीय निर्वाचनको माहोल बनाउन फेरि उहाँ नेपाल आउनुभएको थियो ।
अमेरिकाको ३९ औँ राष्ट्रपति कार्टरले निर्वाचनसँगै नेपालको शान्ति प्रक्रियालाई सुमधुर रूपमा अघि बढाउँदै नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा राम्रो बनाउन भूमिका खेल्नुभयो ।