• १९ भदौ २०८२, बिहिबार

बाँकेको नरैनापुरका विद्यालयमा ‘शिक्षक डायरी’ लागू

blog

नरैनापुर गाउँपालिकाको बस्ती र सडक । तस्बिर : सिराज खान। नेपालगन्ज

सिराज खान

नेपालगन्ज, भदौ १८ गते। बाँके जिल्लाको अन्य क्षेत्रको तुलनामा शिक्षामा सबैभन्दा पछाडि परेको नरैनापुर गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्न पालिका भित्रका सबै सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण चौधरीका अनुसार, पालिकामा रहेका विद्यालयहरुमा शिक्षकको उपस्थिति कम हुने, पढाइको कुनै निश्चित योजना नहुने तथा के के पढाई भयो त्यसको जानकारी पनि नहुने गरेकोले ती सबै जानकारी समेट्न विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको हो।

उहाँले शिक्षक डायरीले शिक्षकको दैनिक, त्रैमासिक तथा वार्षिक योजना र सम्पन्न कार्यको अभिलेख तयार गर्न सहयोग गर्ने उद्देश्य राखेको जनाउँदै डायरीमा आवश्यक तथ्य र पाठ्यक्रमसँग सम्बन्धित प्रारुप समावेश गरिएको बताउनुभयो।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत कमल केसीले डायरीको नियमित प्रयोगले शिक्षकमा शैक्षिक सूचनाको खोज गर्ने बानी विकास हुनुका साथै योजना तयार गर्न र शिक्षण विधि छनोट गर्न सजिलो हुने बताउनुभयो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बिद्यालयमा अनिवार्य गरिएको शिक्षक डायरीले शिक्षकको क्षमता र विद्यार्थीको पढाइप्रतिको मोह बढाउने बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार, डायरीमा विद्यालयको प्रशासनिक विवरण, वार्षिक शैक्षिक क्यालेण्डर, पाठ्यक्रम संरचना, मूल्याङ्कन प्रक्रिया, विद्यार्थीको व्यक्तिगत विवरण र अतिरिक्त गतिविधि विवरण राख्ने व्यवस्था गरिएको छ।