• १८ भदौ २०८२, बुधबार

लिपुलेक–कालापानी

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

blog

कृष्णबहादुर धामी

दार्चुला, भदौ १८ गते । भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको प्रमाण दार्चुलाको मालपोत कार्यालयमा सुरक्षित छ । व्यास गर्खा अन्तर्गत पर्ने उल्लिखित गाउँका मुखियाले विसं १९९५ देखि मालपोत कार्यालय दार्चुलामा जग्गाको तिरो तिरेको रसिद सुरक्षित रहेको मालपोत कार्यालयका प्रमुख लक्ष्मीराज विष्टले जानकारी दिनुभयो । 

मालपोत कार्यालय प्रमुख विष्टका अनुसार दार्चुलामा रहेको विसं १९९५ को व्यास गर्खाको मोठमा कुटी गाउँका मुखिया पान्छोरा बुढा, गुञ्जी र नाबी गाउँका मुखिया हरिकृष्ण बुढाले जग्गाको तिरो तिरेको प्रमाण रहेको छ । सो मोठको सक्कलप्रति २०७२ चैत २६ गते तत्कालीन मालपोत अधिकृत प्रदीपसिंह धामीले भूमिसुधार तथा व्यवस्थापन विभाग बबरमहल काठमाडौँ पठाएको उहाँले बताउनुभयो । विभागबाट लिपुलेक क्षेत्रमा पर्ने छाङरु, तिङ्कर, बुदी, गरब्याङ, कुटी र नपल्च्यु गाउँको जग्गासम्बन्धीको मोठ सक्कलै अभिलेख पठाउन भएको आदेश अनुसार मोठ विभागमा पठाइएको उहाँको भनाइ छ । अहिले मालपोत कार्यालयसँग मोठको नक्कल प्रतिलिपि मात्रै छन् ।

भारतले मिचेको नेपाली भूमि नाबी, कुटी र गुञ्जी गाउँका मुखियाले विसं १९९५ देखि २०३८ साल (नापी हुनुभन्दा पहिले) ४३ वर्षसम्म मालपोत कार्यालय दार्चुलामा जग्गाको तिरो तिरेको प्रशस्त प्रमाण छन् । साथै उहाँले २०१८ सालमा ती गाउँमा तत्कालीन तथ्याङ्क अधिकृत भैरव रिसालले जनगणना गरेकोसमेत बताउनुभयो ।

यहाँका स्थानीयले २०१५ सालमा भएको पहिलो संसदीय आमनिर्वाचनमा मतदान गरेको जिल्ला समन्वय समिति दार्चुलाका पूर्वप्रमुख करबिरबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार सो ठाउँका स्थानीय दार्चुलाको नौगाड गाउँपालिकाको धुलिगडा, अपि हिमाल गाउँपालिकाको सितोलार सदरमुकाम खलङ्गामा हिउँदको छ महिना बसाइँ सरेर बस्ने गर्दथे । २०३८ देखि २०४३ सालसम्म नापीगोश्वारा दार्चुलाले जग्गाको नापी सुरु गरेको पूर्वसमन्वय प्रमुख कार्कीले बताउनुभयो । मालपोत कार्यालय दार्चुलामा रहेको २०३५ सालको जग्गाको लगतमा पनि सो गाउँका मुखियाले तिरो तिरेको रसिद स्पष्ट देखिन्छ । 

व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवर भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी मेरो हो भनेर मात्र कहिल्यै फिर्ता नआउने बताउनुहुन्छ । “भूभाग फिर्ता ल्याउन सरकारले जोडदार रूपमा कूटनीतिक पहल गर्नु पर्छ,” उहाँले भन्नुभयो । साथै उहाँले तिङ्कर सडकमा आवश्यक बजेट विनियोजन गर्न, छाङरु र तिङ्करका बासिन्दा र सुरक्षाकर्मीलाई नेपालकै खाद्यान्न खुवाउन, आफ्नै भूमि भएर जाने बाटो बनाउन, नभए स्थानीयको आवतजावतका लागि हेलिकोप्टरको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

यस्तै दार्चुलाका प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूले विगतदेखि नै समस्याका रूपमा रहेको नेपाल–भारत सीमा विवादको विषय कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले सबै प्रमाणले उक्त भूभाग नेपालको हो, नेपाली भूमिमा विदेशी हस्तक्षेप आपत्तिजनक रहेको बताउनुभयो ।