काठमाडौँ, पुस १५ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुलले वेस्टहाम युनाइटेडमाथि सनसनीपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्टहामलाई उसैको मैदानमा ५–० गोलले हरायो ।
एकपक्षीय खेलमा लिभरपुललाई जिताउन लुइस डिआज, कोडी गाक्पो, मोहम्मद सलाह, ट्रेन्ट एलेन्जान्डर अर्नोल्ड र डि अगो जोटाले गोल गर्नुभयो । पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा दुई गोल थपेको थियो ।
जितसँगै लिभरपुलले शीर्षस्थानमा आठ अङ्कको अग्रता बनाएको छ । १८ खेल सकेको लिभरपुललको ४५ अङ्क छ । दोस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको ३७ अङ्क छ ।पराजित वेस्टहाम २३ अङ्कसहित १३औँ स्थानमा छ ।
आइतबार राति नै भएको अर्को खेलमा साविक बिजेता म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–० गोलले स्तब्ध बनायो । जितसँगै १९ खेलबाट ३१ अङ्क बनाएको सिटी पाँचौँ स्थानमा उक्लिएको छ । पराजित लेस्टर १४ अङ्कसहित १८औँ स्थानमा छ । एजेन्सी