• १८ पुस २०८१, बिहिबार

गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुक : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह सोमबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस १५ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्नुहुँदै उहाँले नेपाल कला, संस्कृति र परम्पराका हिसाबले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गर्न जागरुक हुनुपर्ने बताउनुभयो ।


महोत्सवले गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुक रहेको देखाएको उहाँको भनाइ छ । देशमा प्रजातान्त्रिक व्यवस्था आइसकेपछि बहुजातिय, बहुभाषिक, बहुधार्मिक नेपाली समाजमा रहेका सबै धर्म, भाषासंस्कृतिले स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित राख्दै अझ समृद्ध गर्न पाएको पनि बताउनुभयो ।

‘‘तपाईंहरूको महोत्सवमा यस वर्ष सहभागिता उल्लेख्य देखिएको छ । यसले आफ्नो भाषा, धर्मसंस्कृति, रहनसहन, पुर्खाले छाडेर गएका रितिथिति परम्परा जोगाउन वर्तमानमा सक्रिय भए जोगिनेरहेछ भन्ने देखाउँछ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौं, त्यसलाई संरक्षण र सम्वर्ध्दन गर्नका लागि जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दा कसैलाई  अप्ठ्यारो नहुनेगरी प्रयोग गर्दा त्यसले राम्रो गर्छ भन्नेमा ध्यान दिन जरुरी छ ।’’


महोत्सवमा गुरुङ समुदायको उपस्थिति, कला, संस्कृति, परम्पराको प्रस्तुतीले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरुक देखिएको भन्दै उहाँले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकोमा उहाँले बधाई ज्ञापन गर्नुभयो ।

राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन सबैले आफ्नो शक्ति लगाउन पनि उपप्रधानमन्त्री सिंहले आग्रह गर्नुभयो । गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा महोत्सवमा आयोजना गरिएको हो ।