अविनाश चौधरी
धनगढी, पुस १५ गते । छाडा चौपायाले हिउँदे बाली नोक्सान गर्न थालेपछि किसानले जङ्गल क्षेत्रमा तारबार गरेका छन् । वनमा रहेका छाडा चौपायालाई खेततर्फ आउन नदिनका लागि कैलालीको कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका किसानले तारबार गरेका हुन् ।
बसन्ता वन क्षेत्रमा रहेका छाडा चौपायाले कृषि उपजमा नोक्सान गरेर दुःख दिएपछि वन क्षेत्रमा तारबार गरेको पूर्व भलमनसा जियाराम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार छाडा चौपायाबाट गहुँ, मसुर, आलु लगायतका हिउँदे बाली जोगाउन किसानलाई धौ धौ भएको छ । करिब एक दशकदेखि छाडा गाईगोरुले खेतीपाती नोक्सान गरिरहे पनि छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारको ध्यान नगएको किसानको गुनासो छ ।
बसन्ता वन क्षेत्रमा धेरै छाडा चौपाया बस्छन् । राति भएपछि ती चौपायाहरू किसानको खेतमा पुगेर हिउँदे बाली नोक्सान गर्ने गरेका चौधरीले बताउनुभयो । छाडा चौपायाले नोक्सान गर्दै आएकाले हिउँदे बाली जोगाउन किसान रातभरि खेतमै जाग्राम बस्नु पर्ने बाध्यता रहेको छ ।
यतिबेला कैलालीको वडा नम्बर ३, ४, ५ र ७ का कृषक छाडा चौपायाले हैरान बनेका छन् ।