कठमाडौं, पुस १५ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताउनुभएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत् आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताउनुभएको हो । उहाँले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
उहाँले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको सेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी) को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको पनि बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना नेपालका लागि अत्यावश्यक रहेको भन्दै तत्काल बन्न जरुरी रहेको जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै उहाँले विश्व बैंक, एडिबी लगायत अन्य विकास साझेदारहरूबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरूबाट नै बन्नसक्ने अवस्था रहेको पनि बताउनुभयो ।
उहाँले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको औंल्याउनुभयो । उहाँले आयोजना निर्माणका लागि ५३ अर्बको सम्झौता भइसकेको पनि बताउनुभयो । उहाँले दुधकोशी पनि ६७० मेगावाट आयोजनाको तयारी पूरा भएको पनि जानकारी दिनुभयो ।
‘‘अप्पर अरुण बनाउनका लागि विश्व बैंक, एडबी लगायत अरु डेभलोपमेन्ट पार्टनरहरूले फाइनान्सिङ सम्भव भएन भने यो आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरूबाट नै बन्छ । यो माथिल्लो तामाकोशीको मोडलमा बन्छ । देशविदेशमा भएका नेपाली जनताको लगानी माथिल्लो अरुणमा लगानी गर्न अगाडि बढाउँछौं ।,’’ उहाँले भन्नुभयो, ‘‘आयोजना निर्माणका लागि ५३ अर्बको सम्झौता भइसकेको छ । दुधकोशी पनि ६७० मेगावाट आयोजनाको तयारी सम्पूर्ण रूपमा पूरा भएको छ ।’’
कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादित विद्युत् गुणस्तरीय सप्लाईका लागि आवश्य ट्रान्समिसन लाइनहरू पनि क्रमिक रूपमा बनाउँदै गएको बताउनुभयो ।
उहाँले प्राधिकरणले बनाउन सुरु गरेको ट्रान्समिसन लाइनहरू प्रायः सम्पन्न हुने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले बुटवलदेखि बर्दघाटसम्मको १२० के.भीको ट्रान्समिसन पनि सम्पन्न भएको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजना समयमै सम्पन्न हुँदा नेपालको रिजर्भर आयोजनामा ठुलो योगदान गर्छ । ट्रान्समिसन लाइनमा बुटवलदेखि बर्दघाटसम्मको १२० केभीको ट्रान्समिसनलाई लामो समयदेखि सम्पन्न भएको थिएन । अहिले सम्पन्न गरेर चार्ज भएपछि म्यादीको दानादेखि कुशमा हुँदै बुटवल भरतपुरसम्म पूर्णरूपमा चार्ज भयो । पावर निर्यात गर्नलाई ठुलो सहयोग गर्छ । ठुलो नेटवर्क बनेको छ हेटौँडादेखि ४०० के.भी सकिन लागेको छ । प्राधिकरणले सुरु गरेको ट्रान्समिसनलाई सबै सम्पन्न हुने चरणमा छ ।’’