• २२ पुस २०८१, सोमबार

पुनर्जन्मले हल्लीखल्ली

blog

सर्वेक्षणले भन्छ, आजका दिनसम्म २४ प्रतिशत अमेरिकीले पुनर्जन्ममा विश्वास गर्छन् । भलै वैज्ञानिकले यस्तो सम्भावना ठाडै अस्वीकार गरुन्, कहिलेकाहीँ यस्ता रहस्यमय घटना अगाडि आउँछन् जसले वैज्ञानिलाई समेत अनुत्तरित गरिदिन्छन् । यस्तै एक घटना हो पोलक दिदीबहिनीको । 

सन् १९५७ मा इङ्ग्ल्यान्डका दिदीबहिनी ११ वर्षीय योहाना पोलक र छ वर्षीय ज्याकलिन पोलकको एक कार दुर्घटनामा मृत्यु भयो । एक वर्षपछि उनीहरूकी आमाले जुम्ल्याहा छोरी जन्माइन्– जिलियन र जेनिफर । जब ती जुम्ल्याहा दिदीबहिनी कुराकानी गर्न सक्ने उमेरका भए उनीहरू आफ्ना दिवङ्गत दिदीहरूको खेलौना पहिचान गरी माग्न थाले । उनीहरू ती स्थानका बारेमा इशारा गर्न थाले जसका बारेमा दिवङ्गत योहाना र ज्याकलिनलाई मात्र थाहा हुन सक्थ्यो । जस्तै उनीहरूले पढेको विद्यालयका बारेमा योहाना र जेनिफरले कुरा गर्न थाले । कहिलेकाहीँ त उनीहरू कार देख्दा निकै आत्तिन्थे । एक पटक उनीहरू कराए पनि, त्यो कार हामीलाई लिन आउँदै छ ।

जब ती जुम्ल्याहा पाँच वर्षका भए यस प्रकारका घटना कम हुन थाल्यो र उनीहरू सामान्य जीवन जिउन थाले । पोलक जुम्ल्याहा दिदीबहिनीको कथा पुनर्जन्मको अध्ययन गर्ने डा. इयान स्टेभेन्सनको कानमा पर्‍यो । यस्तो खालका हजारौँ घटनाको अध्ययन गरेका डा. स्टेभेन्सनले एउटा पुस्तक लेखे । त्यसमा उनले १४ त्यस्ता पुनर्जन्मका मामिला उल्लेख गरे जसमा उनलाई विश्वास थियो । पोलक दिदीबहिनीको पुनर्जन्म नै भएको ठम्याइ डा. स्टेभेन्सनको छ ।

इङ्ग्ल्यान्डमा पोलक दिदीबहिनीको पुनर्जन्मको कथा छ दशक भइसक्दा पनि इतिहासको पानामा विलिन भएको छैन, बेला बेला यसको चर्चा हुने गरेको छ । जुम्ल्याहा दिदीबहिनीको जन्म निशानसमेत दिवङ्गत पोलक दिदीहरूसँग मिल्ने, उनीहरूले खेल्ने गरेका खेलौना नै खेल्न खोज्ने, उसरी नै कुरा गर्ने, अनुहारसमेत मिल्दोजुल्दो जस्ता कतिपय विशेषताले गर्दा इङ्ग्ल्यान्डमा त्यतिबेला उनीहरूको पुनर्जन्म नै भएको विश्वास गरियो ।

पोलक जुम्ल्याहाको पुनर्जन्मको रहस्यका बारेमा पुनर्जन्म विषयका विशेषज्ञ तथा प्रतिष्ठित मनोचिकित्सक डा. जिम टकरले भनेका छन्, “पोलक दिदीबहिनीको मामिला निकै रोचक छ । यस घटनाले संसारमा भएका अन्य घटनाको प्रवृत्तिसँग मेल खान्छ । जसले कुनै गहिरो घटना इशारा गर्दछ ।”

पोलक जम्ल्याहा दिदीबहिनीको कथामा शङ्का उपशङ्का व्यक्त गर्नेहरू पनि छन् । केही मानिसको आशङ्का के छ भने दुई छोरीको निधनले मर्माहत पोलक दम्पतीको विलापले जुम्ल्याहा छोरीहरूको व्यवहार प्रभावित भएको हो । टकरलगायतका विशेषज्ञ यस मतलाई महत्व दिँदैनन् र पुनर्जन्मको सम्भावना जनाउँछन् । 

–युवामञ्च