• १७ पुस २०८१, बुधबार

आयोग र गोरखापत्र संस्थानबिचको सहकार्य प्रभावकारी बनाउन छलफल

blog

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त, आयुक्तद्वय र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षसहित महाप्रबन्धक र गोरखापत्र दैनिकका प्रधान सम्पादक । तस्विरः शेखर चौलागाई

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १४ गते । राष्ट्रिय सूचना आयोग र गोरखापत्र संस्थानबिचको आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा आयोग र संस्थान पदाधिकारीबिच छलफल भएको छ । 

आयोगको कार्यलयमा आयोगका पदाधिकारी तथा संस्थान पदाधिकारीबिच आइतबार भएको छलफलमा दुईपक्षीय सहकार्य गरी अघि बढ्नेमा जोड दिइएको हो। सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरीले आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्य, आयुक्तद्वय गगन विष्ट र दुर्गा भण्डारीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

आयोगका प्रमुख आयुक्त डा. आचार्यले पछिल्लो समय गोरखापत्र संस्थानबाट प्रकाशन हुने पत्रपत्रिका तथा डिजिटल प्रकाशनको कन्टेन्टमा सुधार हुँदै गएको बताउनुभयो। गोरखापत्र आफैंमा नेपाली पत्रकारिताको इतिहास बोकेको सञ्चारगृह भएकाले आयोगले सहकार्य गरी आगामी दिनमा काम गर्न इच्छुक रहेको प्रमुख आयुक्त आचार्यले उल्लेख गर्नुभयो। 

प्रमुख आयुक्त डा. आचार्यले सूचनाको हकबाट सञ्चारकर्मी मात्र नभएर सर्वसाधारण नागरिक पनि लाभान्वित हुन पाउने अवस्‍था निर्माण गर्नेतिर साझा प्रयास हुनुपर्ने बताउनुभयो। 

त्यस्तै, आयुक्त गगन विष्टले सूचनाको हकको कार्यान्वयनमा गोरखापत्रजस्तो राज्यको जिम्मेवार मिडियाको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा संस्थानसँग आयोग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनुभएको थियो । छलफलमा अर्का आयुक्त दुर्गा भण्डारीले आपसी सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।  

सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले सूचना आयोगसँग सहकार्य गरेर अघि बढ्न संस्थान तयार रहेको बताउनुभयो। महाप्रबन्धक ऐरीले परम्पराको निरन्तरताभन्दा सिर्जनात्मक ढङ्गले सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो। गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले सूचनाको हक प्रभावकारी कार्यान्वयनले सूचना प्राप्तिमा सहजता हुने बताउनुभयो ।