• १६ पुस २०८१, मङ्गलबार

खतरनाक हुन्छ हेडिङ

blog

दशरथ रङ्गशालामा खेलिएको फुटबल खेलमा  दुई खेलाडी हेडिङ गर्न उफ्रिँदा दुवै जनाको टाउको आपसमा ठोक्कियो र एक जना अचेत भएर मैदानमा ढले । उनलाई तत्काल वीर अस्पताल न्युरोलोजी विभाग पुर्‍याइएको थियो । चिकित्सक उपेन्द्र देवकोटाले परीक्षण गरेर ती खेलाडीलाई त्यहीँ भर्ना गरियो । खेलाडी अचेत नै थिए । उनलाई अक्सिजन र सलाइन चढाइएको थियो । “खेलाडीलाई आज साँझसम्म होस आउन सक्छ, केही दिन पनि लाग्न सक्छ । चिन्ता लिनु पर्दैन,” चिकित्सकले आफन्तजनलाई सम्झाउँदै भनेका थिए ।   

ती खेलाडी १५ दिनमा होसमा आए । उनले लामो हाई काढ्दै निद्राबाट ब्युँझन खोजेको जस्तो गर्दै उठ्न खोजेका थिए । उनको अवस्था अध्ययन गर्दै चिकित्सकले उनलाई केही महिना फुटबल नखेल्ने सुझाव दिए । पछि उनले फुटबल खेल्न छाडे । हालसम्म उनको स्वास्थ्य सामान्य छ । 

फुटबलमा सबभन्दा खतरा त्यतिखेर हुन्छ जब दुई खेलाडीले  हेडिङ गर्न खोज्दा आपसमा टाउको बजारिन्छ वा गोलपोस्टको बारमा टाउको बजारिन्छ वा लडेर भुइँमा टाउको ठोकिन्छ । यस्तो अवस्थामा खेलाडी अचेत हुन सक्छ । हेडिङले मस्तिष्कमा क्षति पुर्‍याउने सम्भावना पनि रहन्छ । गर्धनका हड्डी भाँचिने जोखिमसमेत उत्तिकै हुन्छ । 

यो एक खतरनाक खेल हो । त्यसैले जतिसक्दो छिटो फुटबल खेलमा हेडिङ प्रतिबन्ध गर्नु पर्छ भन्दै अस्ट्रेलियन न्युरो साइन्टिस्ट रोड मार्कहामले फुटबलकको सर्वोच्च संस्था फिफासँग अनुरोध गरेको समाचार धेरै अगाडि प्रकाशित भएको थियो ।

उनले इङ्ग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी जेफ यासलको हेडिङकै कारण मृत्य भएको उदाहरण पनि दिएका थिए । यो घटना सन् २००१ नोभेम्बरमा भएको थियो ।

कोही वर्षअगाडि नेदरल्यान्ड्सका दुई वैज्ञानिकले फुटबलको हेडिङ सम्बन्धमा उठेको विवाद सुल्झाउन यसलाई बक्सिङ खेलसँग तुलना गर्दै एक अध्ययन गरेका थिए । बक्सिङ खेल्दा लाग्ने मुक्का खतरनाक हुन्छ कि फुटबल खेल्दा गरिने हेडिङ खतरनाक हुन्छ भनी गरिएको अध्ययनको नतिजा यस प्रकार थियो :

बक्सिङ खेलाडीले तीन बाउट खेल्दा धेरै मुक्का टाउकोमा लाग्न सक्छ । त्यसले टाउकोका तन्तुमा क्षति पुग्न सक्छ । उनी नकआउट पनि हुन सक्छन् । 

 बक्सिङ खेलाडीको टाउकोमा लागेको चोटका कारणले धेरै खेलाडीलाई नसासम्बन्धी समस्या भएको छ । केही खेलाडीले ज्यानसमेत गुमाएका छन् । 

 खेलाडीलाई टाउकोको चोटबाट बचाउन हेड गार्ड लगाउन अनिवार्य गरिनु पर्दछ । 

 तर फुटबल खेलाडीले ९० मिनेटको खेलमा थोरै हेडिङ गर्नु पर्छ । थोरै मात्रामा हेडिङ गर्नु परेको हुँदा फुटबलको हेडिङ बक्सिङमा जत्ति खतरनाक हुँदैन । तसर्थ फुटबल एक मनोरञ्जनात्मक, प्रतिस्पर्धात्मक खेल हो । 

धेरै वर्षअगाडि बेलायतको एक अदालतलेसमेत हेडिङका कारण पटक पटक भइरहेका गम्भीर घटनालाई ध्यानमा राखेर हेडिङ गर्नमा रोक लगाएको थियो तर अदालतको सो निणर्यलाई कसैले पनि टेरेन । 

रोड मार्कह्यामुले आफ्नो उक्त प्रतिवेदनमा हेडिङकै सम्बन्धमा थप अन्य कुरा उल्लेख गरेका छन् : 

 हेडिङकै कारण खेलाडी बेहोस भएर कोमामा गएको थुप्रै उदाहरण छन् । 

 अतः यसमा फ्रिक्वेन्सी अफ हेडिङ, खेलाडीको टाउकोको आकार, बलको गति, बलभित्र हावाको चाप र बल ग्रहण गर्ने तरिकामा खेलाडीले ध्यान पु¥याउनु पर्दछ । 

 टाउकोको अगाडिको भागबाट मात्र हेडिङ गर्नु पर्छ, तालुबाट कहिल्यै गर्नु हुँदैन ।  अझ हुन सक्छ भने हेडिङ गर्नुपर्ने बललाई बिस्तारै खुट्टामा खसाएर प्रहार गर्नु उत्तम हुन्छ तर यो कत्तिको सम्भव होला !

खेलाडीले दुई किसिमबाट हेडिङका लागि तयार हुनु पर्छ । पहिलो उभिएकै स्थितिबाट उफ्रने अथवा अलिक दौडिएर उफ्रिँदै हेड गर्ने ।पूर्वफुटबल खेलाडीमा दिमागी रोग डेमिन्सियाको जोखिमसमेत हुने गर्छ । यस कारण अनुसन्धान गर्नमा सहयोग पुगोस् भनी इङ्ग्ल्यान्डका विश्वकप विजेता फुटबलर जर्ज कोहेनले आफ्नो मस्तिष्क दान गर्ने घोषणा गरेका थिए । इङ्ग्ल्यान्ड र वेस्ट ब्रोमका पूर्वखेलाडी जेफ यासलको सन् २००२ मा ५९ वर्षको उमेरमा दिमागकै रोगले मृत्यु भएको थियो । 

एक्टा न्युरोपाथोलोजीको जर्नलमा प्रकाशित फुटबल खेलाडी र डेमिन्सिया रोगबीचको सम्बन्धबारेको अनुसन्धानात्मक आलेखले भनेको छ, क्रोनिक ट्राउमेटिक इन्सेफालोपाथी (सिटिई) लाई डेमिन्सियाको एउटा सम्भावित कारण मानिन्छ र टाउकोमा बारम्बार लागेको धक्काले यो अवस्था सिर्जना गर्दछ ।  

लन्डनको युसिएल क्विन स्क्वायर ब्रेन ब्याङ्कले डेमिन्सिया भएका १४ जना पूर्वफुटबलरको मस्तिष्कको जाँच गरेको थियो । तीमध्ये छ जनाको परिवारका सदस्यको स्वीकृतिमा मस्तिष्कको शल्यक्रिया गरेरै परीक्षण गरियो । जसमध्ये चार जनाको मस्तिष्कमा सिटिई र छ जनाकै मस्तिष्कमा अल्जाइमरको सङ्केत फेला पारिएको थियो । समग्रमा १४ खेलाडीमध्ये १२ जनाले घातक डेमिन्सियाका कारण ज्यान गुमाएका थिए । 

डेमिन्सिया हुँदा अल्जाइमरसरह मस्तिष्कमा एक प्रकारको प्रोटिन जम्मा हुने वैज्ञानिकको भनाइ छ । अल्जाइमरको सङ्केत मिलेका सबै छ जना खेलाडीको मस्तिष्कमा सो प्रोटिन पाइएको थियो ।  

सानै उमेरदेखि फुटबलमा लागेका खेलाडीको मस्तिष्कमा खराबी आउने सम्भावना झन् बढी हुन्छ । विकसित हुन लागेको मस्तिष्कमा बारम्बार फुटबलको धक्काले डेमिन्सियाको परिस्थिति सिर्जना गर्दछ । 

मस्तिष्कको क्षमतामा ह्रास आउनुलाई सामान्य रूपमा डेमिन्सिया बुझ्न सकिन्छ । स्मरण ह्रास हुनुलाई यसको उदाहरण मान्न सकिन्छ । डेमिन्सियाको एउटा स्वरूप अल्जाइमर हो । वास्तवमा डेमिन्सिया कुनै विशेष रोगचाहिँ होइन । बरु स्मरण ह्रास हुने समस्यासँग जोडिएका अन्य कैयौँ बिकारको आधार हो यो ।   

–युवामञ्च     

Author

रमेश खनाल