• १४ पुस २०८१, आइतबार

बजार नपाएपछि कुहिन थाल्यो किवी

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, पुस १४ गते । जिल्लाका ग्रामीण बस्तीमा किसानले लगाएका किवीका फल बारीमै कुहिन थालेका छन् । जाजरकोटको छेडागाड नगरपालिका, नलगाड नगरपालिका, जुनीचाँदे गाउँपालिकामा किसानको किवीले बजार नपाएपछि बोटमै कुहिन थालेका हुन् । 

कृषि पेसाबाट जीविकोपार्जन गरेका सर्वसाधारणले आयआर्जनमा सुधार गर्न किवी खेती गरे पनि बजार तथा यातायातको सुविधा नहुँदा यहाँका किसान चिन्तित भएका छन् । किवीले राम्रो फल दिए पनि आम्दानी गर्ने आशा गरेका किसान बिक्रीवितरणका लागि बजार नपाउँदा निराश भएका छन् । अन्नबाली उत्पादन हुने जमिनमा किवी खेती फलाएका किसान बोटमै कुहिन थालेपछि भोकमरी पर्ने सम्भावना बढेको हो ।

छेडागाड नगरपालिका–२ का गोविन्द बुढाले २०७४ सालमा इन्द्रेणी कृषि फार्म दर्ता गरी किवी खेती गर्नुभएको थियो । खेतीयोग्य जमिनमा आम्दानीको स्रोतका रूपमा लिएका नौ सय बिरुवामध्ये तीन सय बिरुवाले करिब १३ क्विन्टल फल दिएको तर बिक्रीका लागि बजार नपाउँदा बारीमै कुहिन थालेपछि मर्कामा परेको बताउनुभयो । 

केही वर्षअघि कृषि विकास कार्यालय, स्थानीय तहले किवी खेतीबाट राम्रो आम्दानी हुन्छ भनेपछि सुरु गरिएको खेतीले बजार नपाउँदा बारीमै चराचुरुङ्गीले खाने गरेको उहाँले जनाउनुभयो । टिपेका फल पनि बिक्री गर्न समस्या हुँदा कुहिन थालेको उहाँको भनाइ छ । 

उहाँका अनुसार नेपालगन्ज, सुर्खेत, काठमाडौँलगायतका सहरमा किवी बिक्रीवितरणका लागि सम्पर्क गरे पनि चाइनिज किवी बजारमा पर्याप्त पाउने भएकाले आफूहरूको किवीलाई बेवास्ता गरिएको छ । छेडागाड नगरपालिका–२ का लालबहादुर रावतले खेतीयोग्य जमिनमा धेरै कमाउने आशा गरी गरिएको किवी खेतीले बजार नपाएपछि बारीमै नष्ट भएको बताउनुभयो । 

जुनीचाँदे गाउँपालिका–८ का वडाध्यक्ष निसान घर्तीका अनुसार किवी खेतीबाट आत्मनिर्भर हुनुका साथै जीविकोपार्जनमा सुधार ल्याउन गरिएको खेतीले फल दिए पनि बजारीकरणमा समस्या भएकाले करिब ८० क्विन्टल बारीमा कुहिएको छ । उहाँले बिक्रीवितरणका लागि बजार नपाउँदा आफू जस्तै धेरै किवी खेती गर्ने किसान चिन्तित भएको बताउनुभयो । 

सवारीसाधनको सहज पहुँच नभएको जुनीचाँदेमा ग्राहकले माग गरेपछि बोकेर भए पनि ल्याइदिने गरिएको छ । ग्रामीण बस्तीमा किसानले उत्पादन गरेका वस्तु बजारीकरण गर्न सडक पहुँच नहुँदा समस्यामा परेका छन् । उहाँले ग्रामीण सडकलाई स्तरोन्नति गरी बजारसम्म पहुँच बढाइदिन स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।