• २६ जेठ २०८२, सोमबार

लन्डन दूतावासमा नेपाल पर्यटन प्रवर्धन साँझ

blog

लन्डन , जेठ २६ गते । लन्डनस्थित नेपाली दूतावासले पर्यटन बोर्डसँगको सहकार्यमा शुक्रवार साँझ पर्यटन प्रवर्धन सम्बन्धी विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको छ ।

नेपाली र बेलायती आरोही, नेपाल घुमेका बेलायती एवं विदेशी ट्राभल, टुर अपरेटर सहभागी उक्त कार्यक्रममा वृत्तचित्रमार्फत नेपालको लोभलाग्दो प्राकृतिक सौन्दर्य प्रस्तुत गरियो । कार्यक्रममा आरोही र नेपाल घुमेका पर्यटकहरूले आ–आफ्नो अनुभव समेत साटासाट गरेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य दिँदै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपालको प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति र समृद्ध ऐतिहासिक कलाकृतिको अनुभव गर्न नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो ।  

राजदूत घिमिरेले नेपाल धेरै आश्चर्यजनक चीजहरू उत्खनन गर्न पर्खिरहेको उल्लेख गर्दै बेलायत नेपाल सदियौँ लामो ऐतिहासिक सम्बन्धबारे पनि प्रकाश पार्नुभयो । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले पर्यटनको पुनरुत्थानका लागि सरकारको नीतिबारे प्रस्ट्याउनुभयो । रेग्मीले सरकारले यात्रु र लगानीकर्ता दुवैका लागि आवश्यक सहजीकरण सुनिश्चित गर्ने आश्वासन पनि दिनुभयो  । 

नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालको पर्यटनको प्राकृतिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक आयामहरूमाथि प्रकाश पार्दै नेपाल समुदायहरूलाई उत्थान र नेपाललाई अद्वितीय बनाउने सम्पदाहरूको संरक्षण गर्न दिगो र जिम्मेवार पर्यटनमा विश्वास राख्ने बताउनुभयो ।

उहाँले नेपाल जानु केवल भ्रमण मात्र नभएर जीवनकालको अनुभवहरू समेत लिनु रहेको उल्लेख गनुभयो ।

पर्यटन व्यवसाय कोभिड महामारी अघिकै अवस्थामा फर्किसकेको उल्लेख गर्दै जोशीले नेपाल विदेशी पर्यटकहरूका लागि सुरक्षित गन्तव्य र निर्धक्कसाथ घुम्न सकिने बताउनुभयो ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गरेको कार्यक्रममा आफ्नो कथा सुनाउने वक्ताहरूलाई राजदूत घिमिरे र पर्यटन बोर्डका सिइयो जोशीले प्रशंसा पत्र प्रदान गर्नुभयो । दूतावासले आगमनका क्रममा सबै विदेशी पाहुनालाई ढाका टोपी र खादा पहिरेर स्वागत गरेको थियो ।