गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २६ गते । गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रशारण नेपालबिच सूचना सन्देश साझा गर्नेगरी सातबुँदे सम्झौता भएको छ । संस्थान कार्यालयमा आज भएको छलफलपछि दुई संस्थाबिच सो सहमति भएको हो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले दुई सरकारी संस्थाविचको सम्झौताले सहकार्य अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि पनि दुई संस्थाबिच विविध विषयमा सहकार्य र समन्वय भए पनि आगामी दिनमा अझ त्यसलाई प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दुई सरकारी स्वामित्वका मिडिया गृहबिचको आपसी सहकार्यले दुवै संस्थालाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । आपसी सहकार्यले दर्शक, स्रोता र पाठकको सङ्ख्यामा वृद्धि हुने उहाँको भनाइ छ । दुवै सञ्चार गृहको आफ्नै इतिहास र पव्लिकमा विश्वास कायम रहेको भन्दै उहाँले पछिल्लो दिनमा गोरखापत्र संस्थानका प्रकाशनको गुणस्तरीयता बढेको बताउनुभयो ।
सार्वजनिक सेवा प्रशारण नेपालका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले दुई संस्थाबिचको सहकार्य पुरानै भए पनि अब नयाँ उचाइसाथ थप सहकार्य गरिने बताउनुभयो । दुवै संस्थाको काम नागरिक केन्द्रित भएकाले आपसी सहकार्यले दुवै संस्था र पाठक, स्रोता र दर्शकलाई पनि फाइदा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा दुई सञ्चार गृहका कार्यकारी अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्झौतापत्र साटासाट गर्नुभयो । सम्झौतामा भनिएको छ, “दुवै पक्षको प्रवर्धनात्मक सामग्री विज्ञापन वा डकुमेन्ट्रीमा नियमानुसारको छुट उपलब्ध गराएर सोको निर्माण एवम् उत्पादन गरी प्रकाशन–प्रसारण गर्नुपर्ने छ । दुवै पक्षले बिलिङ गर्दा स्वीकृत दररेट बमोजिम गर्नुपर्ने छ ।”
कार्यक्रममा पिएसबीको तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्ट, कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत न्यौपाने, राजकुमार थापा, श्याम ढकाल लगायतको सहभागिता थियो ।
त्यस्तै, गोरखापत्र संस्थानको तर्फबाट कार्यकारी अध्यक्ष सुवेदी, सञ्चालक समिति सदस्य तथा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, प्रशासन विभाग निमित्त निर्देशक रेखा श्रेष्ठ, योजना विभागका प्रमुख भगीरथ बस्नेत, उत्पादन विभागका प्रमुख ओम भुषाल, वितरण विभाग प्रमुख वविता कार्की, व्यापार विभाग प्रमुख गङ्गबहादुर पन्थी, अर्थ विभाग प्रमुख राजुकुमार महत लगायतको सहभागिता थियो ।