काठमाडौँ, पुस १३ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएको छ । एनओसीको शनिबार अनलाइनमार्फत गरिएको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसअघि बिहीबार मात्र सर्वोच्च अदालतले एनओसीको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो । कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । तर अदालतको आदेशको समेत अवज्ञा गर्दै भएको अनलाइन निर्वाचनमा ओलम्पिकमा आबद्ध विभिन्न २७ राष्ट्रिय खेल सङ्घमध्ये २० सङ्घको सहभागिता रहेको थियो । जसमा जीवनरामले २० नै मत पाउनुभयो ।
यसअघि अध्यक्ष पदको उम्मेदवारका लागि मनोनयन दर्ता गर्नुभएका निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङको पक्षमा मत परेन । निलेन्द्रसहित सात सङ्घका प्रतिनिधि एवं पदाधिकारीले निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै बहिस्कार गरेका थिए ।
यसअघि पाटन उच्च अदालतले एनओसीको विधान संसोधन र साधारणसभा रोक्न आदेश दिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत अदालतको आदेशको पालना गर्न खेल सङ्घहरूलाई पत्राचार गरेको थियो ।
एनओसीको उपाध्यक्षलगायत अन्य पदाधिकारी भने यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन् । एनओसीको नयाँ नेतृत्वलाई अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) र एसिएन ओलम्पिक काउन्सिल (ओसिए) बाट मान्यता पाउला या नपाउला त्यसले एनओसीको आगामी यात्रा तय गर्नेछ ।