• १४ पुस २०८१, आइतबार

वन क्षेत्रमा बनाइएका घर भत्काइए

blog

वन क्षेत्र अतिक्रमण गरेर बनाइएका घर भत्काइएपछि । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, पुस १३ गते । रुकुमपश्चिममा वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच वटा घर, टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय अन्तर्गत चौफा सबडिभिजन वन कार्यालयले सानीभेरी गाउँपालिका –१० स्थित दुई वटा सामुदायिक वन क्षेत्रमा बनाइएका घर टहरा हटाइएको हो । 

डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार मझाउ सामुदायिक वन उपभोक्ता समूह र चिउरीगैरा सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरेर बनाइएका पाँच वटा घर टहरा भत्काइएको हो । अतिक्रमित घर हटाएर वन क्षेत्र कायम गरिएको छ । 

उहाँले सबडिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह, जनप्रतिनिधिको रोहवरमा घर भत्काइएको बताउनुभयो । डिभिजन वन कार्यालयले वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका विभिन्न संरचनाहरू हटाउने र वन क्षेत्र विस्तारको अभियानलाई तिब्रता दिने जनाएको छ ।