• १४ पुस २०८१, आइतबार

बबई नदीमा अस्थायी पुल निर्माण

blog

बबई नदीको खैलार घाटमा निर्माण गरिएको अस्थायी पुल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस १३ गते । माघे संक्रान्ति एवम् माघि पर्वलाई लक्षित गरेर बर्दिया ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका नागरिकलाई सुरक्षित एवम् छोटो दुरिमा आउजाउ गर्न बबई नदिमा हेम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको छ । ठाकुरबाबा नगरपालिकाले बबई नदिको खैलार घाटमा हेमपाइप राखेर अस्थायी रुपमा पुल निर्माण गरेपछि बारबर्दिया र ठाकुरबाबा नगरपालिकाबासिलाई आउजाउमा सहज भएको हो । 

माघ १ गते ठाकुरद्वारा मन्दिरमा ठुलो मेला लाग्ने भएकोले सो मन्दिरमा दर्शन गर्न र मेला हेर्न जान आउनका लागि स्थानीयलाई सहज होस भनेर बबई नदीको खैलार घाटमा हेमपाइप राखेर अस्थायी पुल बनाइएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताउनुभयो । उहाँका अनुसार सो पुलले हिउँदे अवधिभर बबई नदिमा पानीको सतह नबढेसम्म आउजाउमा सहज हुनेछ । 

हेमपाइप राखेर अस्थायी पुल बनेपछि नागरिकलाई आउजाउ गर्न सहज भएको सर्वसाधारणले जनाएका छन् । नदीमा पानीको सतह नबढेसम्म ओहोरदोहोर गर्न सहज भएपनि वर्षा र अन्य दिनमा आउजाउ गर्न नमिल्ने हुँदा खैलार घाटमा पक्की पुल निर्माणका लागि स्थानीयले माग गरेका छन् । उता, खैलार घाटमा पुल निर्माणकार्यको तयारी भइरहेको जनाउँदै आगामी वर्ष बजेट छुट्याउन पहल भइरहेको ठाकुरबाबाका प्रमुख लम्सालले बताउनुभयो । 

उहाँका अनुसार हाल बारबर्दियाको कतर्निया हुँदै ठाकुरबाबा नगरपालिकाको खैलार, मिर्चैया, नगर अस्पताल नेउलापुर, गोदाना हुँदै ठाकुरद्वारासम्म वैकल्पिक सडक निर्माणका लागि ९५ करोड बजेटको ठेक्का टेन्डर एक सातामा निकालिने तयारी छ ।