• १४ पुस २०८१, आइतबार

एनपिएलले जगाएको आशा

blog

भारतमा सन् २००७ मा फ्रेन्चाई क्रिकेट लिग आइपिएलको सफलतापछि अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा क्यारेबियन लिग (सिपिएल), इङ्ग्ल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्का प्रिमियर लिग (एसपिल) देखा परे । भारतमा आइपिएलले खेल र व्यापारका रूपमा गजबको सफलता प्राप्त गरेको थियो । त्यसैले विश्वका धेरै देशमा फ्रेन्चाई लिग सुरु भएको थियो ।

फ्रेन्चाई क्रिकेट लिग प्रतियोगिताको विशेषता हुन्– फ्रेन्चाई (टिम मालिक) को मोडेल, सहरको नाममा टिम र मार्की प्लेयर, खेलाडी लिलामीद्वारा टिम तयार पार्नु, ठुलो धनराशिमा टेलिभिजन प्रसारण अधिकारको बिक्री अनि सहभागी टोलीले पनि थुप्रै प्रायोजकलाई संलग्न गराएर आफ्नो टिमको ब्रान्डिङ गर्नु । यस्ता लिग टेलिभिजनका दर्शकलाई लक्ष्य गरी बनाइन्छ भन्दा पनि फरक पर्दैन यद्यपि आइपिएल जस्तो सफल लिग अहिलेसम्म कुनै देशमा हुन सकेको छैन । नेपालले आयोजना गरेको फ्रेन्चाई लिग नेपाल प्रिमियर लिग (एनपिएल) लाई पहिलो संस्करणमै आइपिएलसँग तुलना गर्न थालिएको छ । किनकि विश्वको सबभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा एनपिएल परेको छ । आइपिएल, बिग ब्यास, पिएसएल, सिपिएल मात्र एनपिएलभन्दा अगाडि छ । एनपिएलले बिपिएल र एसपिएललाई पनि पछार्न सफल भएको छ ।

यसका केही कारण छन्– एनपिएलमा करिब एक अर्ब रुपियाँको लगानी । यसै गरी टी–२० संरचनामा चाहिने मसलाहरू सहभागी जस्तै– टिमबिचको प्रतिद्वन्द्विता, ग्लामर, सनसनीपूर्ण खेल र सबभन्दा महत्वपूर्ण दर्शकको ठुलो क्रेज आदि सबै थिए । एनपिएलले सही अर्थमा नेपालमा सिटी क्रिकेटको प्रतिद्वन्द्विता सुरु गरेको छ; जुन हामी विश्वका अन्य ठुला ठुला लिगमा मात्र देख्न पाउँथ्यौँ । एनपिएल टिमहरूले पनि फेसबुक, यु्ट्युब, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको उपयोग गरेर ठुलो मात्रामा समर्थक कमाए । त्यसैले पनि महँगो टिकटबिच पनि एनपिएलमा हरेक खेलमा दर्शकको उपस्थिति खचाखच रह्यो । यसले एनपिएलको ब्रान्ड भ्यालु ह्वात्तै बढेको छ । 

हुन त (क्यान) ले पाँच वर्षअघि नै एनपिएलको सोचाइ बनाइसकेको थियो । दुई वर्षअघि पनि क्यानले नेपाल टी–२० लिगका रूपमा फ्रेन्चाई क्रिकेट पनि गर्‍यो तर यो क्यानका लागि नेपाल टी–२० लिग नराम्रो सपना नै भयो । नेपाल टी–२० लिगले कसैको खासै समर्थन पाएन । सो समय माहोल नै बन्न सकेन तर क्यानले सोही असफलतालाई सिकाइका रूपमा गहन तयारी ग¥यो । फलस्वरूप पहिलो संस्करणमै दर्शक र लगानीकर्ताको माया पायो । क्यानले एनपिएलका लागि पैसाको खोलो बगाएको थियो । अहिले घाटा भए पनि पछिका लागि ब्रान्ड भ्यालु बनाउने सोच क्यानको छ । टिम किन्ने मालिकहरूले आफ्नै तरिकाले टिमलाई हाँके । प्रायोजनमा पनि टिम मालिककै निर्णय चले । त्यसैले टिम मालिकहरूले पनि खर्च गर्न कन्ज्युस्याइँ गरेनन् । पुरस्कार, उपहारकै कारण पनि नेपाली क्रिकेटर एनपिएलको प्रशंसा गरेर थाकेका छैनन् । एनएसएलमा खेल्न खेलाडीले तुलनात्मक रूपमा राम्रो मूल्य पाए । अझ नेपाली क्रिकेटरले एपिएलबाट अहिलेसम्मकै सबभन्दा ठुलो रकम प्राप्त गरेका छन् । प्रतिभा खोजबाट छानिएका आइकोनिक खेलाडीलाई पनि राम्रो रकम दिइएको छ । प्रतियोगिताका लागि खेलाडी फाइभ स्टार होटलको सुविधामा रहे । नेपालका धेरै जसो क्रिकेटरले पहिलो पटक यस खेलमा कर्पोरेट कल्चरको अनुभव गरे । त्यसैले पनि क्रिकेटरले विगतमा भन्दा मेहनत गरेर र ‘प्यासन’ का साथ खेलेको देखियो । 

एनपिएलको सफलताले अन्य खेलको फ्रेन्चाई लिग पनि बृहत् मात्रामा गर्न सकिने आशा देखाएको छ । फुटबल र महिला भलिबलको फ्रेन्चाई लिग त सुरु भइसकेको छ । केही महिनामै कबड्डीको फ्रेन्चाई लिग पनि हुँदै छ । एनपिएलको सफलतापछि बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस खेलमा पनि फ्रेन्चाई लिग हुने सम्भावना देखिन्छ । भारतमा यी सबै खेलको फ्रेन्चाई लिग हुने गर्छ । यसले त्यहाँ सबै खेलका खेलाडीलाई पूर्ण रूपमा व्यावसायिक बनाउन सहयोग पुर्‍याएको छ । 


जनकपुर बोल्ट्स बन्यो च्याम्पियन

एनपिएलका आठै टिम अक्सन र सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एकसे एक टिम तयार पारे । त्यसैले कुनै पनि खेलको भविष्यवाणी गर्न कठिन थियो । प्लेअफमा पुग्ने चार टिमको निर्णय समूह चरणको अन्तिम खेलसम्म पुगेकाले पनि प्रतियोगिता कत्तिको रोमाञ्चक थियो भन्ने अनुमान लगाउन सकिन्छ । तीन हप्ताको उतारचढावपछि अन्ततः जनकपुर बोल्ट्स च्याम्पियन बन्यो । जनकपुरले फाइनलमा सुदूरपश्चिमलाई पाँच विकेटले हराएको थियो । सुदूरपश्चिम प्रतियोगिताको सबभन्दा राम्रो टिमका रूपमा प्रस्तुत भए पनि अन्तिम खेलमा चिप्लियो । जनकपुर फाइनलमा सुदूरपश्चिमसँग पछिल्ला दुई पटक हार बेहोर्दाको खेलमा भन्दा फरक रूपमा प्रस्तुत भयो । फाइनलमा जस्तो दबाबपूर्ण खेलमा १८५ रनको लक्ष्य हासिल गरेर च्याम्पियन हुनु चानचुने उपलब्धि होइन ।

क्रिकेटमा दर्शकको सबभन्दा रोमाञ्चक क्षण छक्का र चौका प्रहारमा हुन्छ; जुन टी–ट्वान्टी संरचनामा प्राप्त हुन्छ । सुदूरपश्चिम र जनकपुरले भरपूर मात्रामा चौका, छक्काको वर्षा गरेर फाइनलको वास्तविक रोमाञ्चक दर्शकलाई दिलाए ।

एनपिएल जस्तो फ्रेन्चाई लिग प्रतियोगितामा च्याम्पियन बन्न पर्याप्त सुझबुझ र गृहकार्य चाहिन्छ । टिम संरचनामा पर्याप्त ध्यान दिनु, सन्तुलित टिम बनाउनु, बेन्च पनि उत्तिकै बलियो बनाउनु पर्छ । त्यसमाथि मैदानभित्रको प्रदर्शन त दमदार चाहियो नै । जनकपुरको टिम म्यानेजमेन्टले यी सबै कुराको तारतम्य मिलाएको देखियो । हरेक खेलपछि जनकपुरका खेलाडी, प्रशिक्षकले टिम म्यानेजमेन्टलाई दिएको जसबाट पनि यो प्रमाणित हुन्छ । नियमित कप्तान अनिल शाह प्लेअफअघि नै घाइते भएर प्रतियोगितामा खेल्न नसक्ने भएपछि जनकपुरलाई धक्का लागेको थियो तथापि त्यसपछिका खेलमा आसिफ शेखले टिमको नेतृत्व गरेर जनकपुरलाई च्याम्पियन बनाउनुभएको थियो ।

विदेशी खेलाडीको प्रभाव

एनपिएल सफल हुनुमा विदेशी खेलाडीको प्रभाव पनि एक हो । प्रतियोगितापूर्व नै उपाधि जित्न टिमलाई विदेशी खेलाडीको प्रदर्शन निर्णायक हुने हल्ला पनि नसुनिएको होइन; जुन सही साबित भयो । यस पटक सहभागी टोलीले एक पटकमा चार विदेशी खेलाडी एकै पटक मैदानमा खेल्न पाउने नियम बनाइएको थियो । सबै टिमले चारै खेलाडीलाई एकै पटक मैदानमा छिराएर सो नियमको भरपूर फाइदा उठाए । अझ हरेक टिममा एकसे एक विदेशी खेलाडी हुँदा खेलको स्वाद बेग्लै बन्यो र उत्तिकै प्रतिस्पर्धात्मक पनि । यस पटकदेखि सबै टिम विदेशी खेलाडीका भरमा मैदानमा उत्रिएपछि कुनै टिम कमजोर देखिएन भन्दा हुन्छ । विदेशी खेलाडीले दर्शकलाई व्यावसायिक क्रिकेटको भरपूर मज्जा दिए । खेलकौशलका मामिलामा विदेशी खेलाडी हामीभन्दा धेरै अगाडि छन्, यसमा कसैको दुई मत हुन सक्दैन । विगतमा औसतखाले आयातित क्रिकेटर नेपाल आउने गरे पनि यस पटक सबै टिमले एकसे एक स्तरीय विदेशी खेलाडी अनुबन्ध गरेका थिए । एनपिएलमा विशेषतः भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल र जिमी निसम, पाकिस्तानका तेज बलर सोहेल तनवीर, इङ्ग्ल्यान्डका अलराउन्डर रवि बोपरा र अस्ट्रेलियाका वेन कटिङ जस्ता चर्चित विदेशी खेलाडी आएपछि लिगको रौनक नै फरक भएको थियो । विश्वकै सर्वकालीन महान् ब्याट्सम्यानमध्ये एक ‘दी चाल्र्स अफ ट्रिनिडाड’ को उपनाम पाएका ब्रायन लाराको आगमनले एनपिएलको चर्चालाई अझ ह्वात्तै बढायो ।


यीमध्ये गुप्टिल र कटिङको प्रदर्शन अपेक्षाकृत हुन सकेन । धवनले आफ्नो छाप छोडे नै । तनवीर, बोपारा र निसम धेरै खेलमा आआफ्ना टिमका लागि निर्णायक बने । निसम प्रतियोगिताका सर्वश्रेष्ठ खेलडीकै होडमा थिए । यसबाहेक प्रतियोगितापूर्व खासै चर्चा नभएका विदेशी खेलाडीमा श्रीलङ्कामा जन्मेका अमेरिकी क्रिकेटर लाहिरु मिलान्था, इङ्ग्ल्यान्डका अलराउन्डर सैफ जेब, न्युजिल्यान्डका तेज बलर स्कट कुग्लियन र अस्टे«लियाका विलियम बोसिस्टो आआफ्ना टिमका लागि प्रमुख खेलाडीका रूपमा प्रस्तुत भए । मिलान्था प्रतियोगिताकै सर्वाधिक रन स्कोरर बन्न पुगे । जनकपुर च्याम्पियन बन्नुमा फाइनलमा मिलान्थाकै ब्याटिङ कारण थियो । जेब अलराउन्डर प्रदर्शनका कारण प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । 

कुग्लियन नेपालका स्पिनर ललित राजवंशीसँगै सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा रहनुभयो । यसै गरी कुनै कुनै खेलमा अमेरिकाका एन्द्रिज गौस, वेस्टइन्डिजका रिफरबाट पनि अविश्वसनीय प्रदर्शन आएको थियो । एनपिएलमा सोचे जस्तो विदेशी खेलाडीको जगजगी भने भएन । यिनलाई घरेलु क्रिकेटरले आआफ्ना प्रदर्शनद्वारा उत्तिकै चुनौती दिए । विदेशी खेलाडीको दबदबाबिच केही घरेलु खेलाडी पनि चम्कन पुगे ।