• १४ पुस २०८१, आइतबार

एउटा विषय यस्तो पनि [कथा]

blog

आज केही लेखूँ भनेको केही फुरिरहेको छैन । यो लेखकको सङ्कट हो । सङ्कट त के भनूँ, कहिलेकाहीँ जाम भइहाल्छ दिमाग । जे लेख्न चाह्यो त्यो नआउनु एउटा कुरो तर आउँदै नआउनु अर्को । लेख्न सजिलो यो पनि छ, लेखकलाई पात्र बनाएर लेखेपछि स्वयम्लाई व्यक्त गर्ने चाँजो पनि मिल्छ । कुनै एउटा विषयमा वा कुनै एउटा घटनासूत्र फेला परोस् त त्यसैलाई विस्तृत गरेर केही लेखूँ । यसै ताकमा थिएँ म । बाहिर हेरिरहेको थिइनँ । 

आज चिसो अलि बढी थियो र झ्यालको पर्दा हटाएको थिइनँ । पर्दा हटाउनुभन्दा पनि सधैँ झैँ झ्याल नै खोलेको थिइनँ । जाडोदेखि मलाई डर लाग्छ । गर्मी पनि प्रिय छैन । मान्छेको स्वभाव, सधैँ सुख नै चाहने । सुखका लागि म सङ्घर्षशील थिएँ । सफल भइरहेको थिइनँ । कहिले अफसोस पनि लाग्थ्यो, कहिले आक्रोश पनि उम्लन्थ्यो असफलतामा । यसैबिच बाहिर एउटा हल्ला आइदियो । कसैले कसैलाई भनिरहेको थियो, “यो हुनै सक्तैन ।” जुन कुरो हुनै सक्तैन भन्ने श्रेणीमा परिरहेको थियो, त्यो कुन वा के कुरो हो, त्यसको विवरण आइरहेको थिएन । त्यसका लागि बाहिर जानुपर्ने भयो । जाडो थियो । समय जाडैको हो । जाडो पनि दिनप्रतिदिन बढिरहेको थियो । विश्वको पर्यावरण बिग्रँदो छ भन्ने व्यापक भइसकेको छ । यस्तोमा जाडो बढेको बढ्यै छ भनेर फतफत किन गरिरहने ? तैपनि जाडो त थियो । 

पल्लो टोलमा राति चोर पसेछ । त्यताको मान्छे यता आएर आशङ्का व्यक्त गरिरहेको थियो, “चोर तपाईंहरूकै टोलको हो ।” म त यता आएको वर्ष दिन भएको छ । टोलवासीमध्ये म पनि पुरानो हुँ भन्ने दाबी थिएन । वर्ष दिन, टोलकामध्ये को सज्जन को दुर्जन भनेर छुट्याउन पर्याप्त समय भइसकेको थिएन । अधिकांशलाई म चिन्दिनथेँ । अचेल टोल पनि टोल रहेन । भन्नका लागि टोल भने पनि याँ बडे बडे बिल्डिङ खडा गरिएका छन् । एउटा बिल्डिङले स्वयंमा एउटा टोल बोकेको हुन्छ । त्यसमाथि भन्न सजिलो के भने यो कोठाकाले अर्को कोठाको भाडावाललाई चिन्दैन । यो सहरी सभ्यता हो । अब यस्तोमा मैले चोर चिन्ने कुरो पनि भएन । चोर चिन्नतिर लाग्नु पनि थिएन । 

टोलका मध्ये केहीले यस्तो दाबी पनि गर्थे, टोल हाम्रा बाउबाजेले स्थापना गरेका हुन् । राजधानी पहिले यस्तो थिएन भन्थे । त्यो त देखिएकै छ । हिजोभन्दा आज यसमा परिवर्तन भइरहेकै छ । सकारात्मक परिवर्तनभन्दा नकारात्मक परिवर्तन बढी छ । यो सब अगाडि राखेर बहस गर्नु बेर्थै थियो । बाउबाजे अहिले पितृमा परिणत भइसके । त्यस्तो दाबी गर्नेहरूले यो भन्न सक्तैनथे हामी उतिबेलैका मानिस हौँ– स्वभावैले र जीवनशैलीले । धेरै हेरफेर भइसक्यो । पुरानोलाई नयाँले पूरै थिचिसक्यो, जस्तै समुद्रका छालले पटक पटक पुरानो बालुवामाथि नयाँ बालुवा थुपारेर गए झैँ । 

यति त आयो । लेख्न बसेको ठाउँमा घोत्लिएर बसेको भए पनि, के भने बगरको पुरानो बालुवालाई समुद्रको लहरले ल्याउने नयाँ बालुवाले छोपे झैँ । तर एउटा पङ्क्ति लेखेर मात्रै छाप्न पठाउन सकिँदैनथ्यो । यो एउटा पङ्क्ति कुनै कविताको हरफ त हुन सक्थ्यो तर सम्पूर्ण रचना होइन । सम्पूर्ण रचना बनाउनका लागि चोरको पत्तो लाउनु थियो । चोर समात्न म सक्तिनथेँ । टोलका पुराना बासिन्दा यस मानेमा हौँ, हाम्रा बाजेबराजु यसै टोलमा जन्मेर अन्तिम सास पनि यसै टोलमा फेरेका हुन् भन्नेले त टोलभित्र को चोर को सज्जन भनेर छुट्याउन सकेका छैनन् । 

म यता आएको पुगनपुग एक वर्ष मात्र भएको छ । न मेरा पुर्खा यो टोलमा जन्मे, न यै टोलमा प्राण त्यागे । भनेपछि चोर पत्तो पाउन मलाई धेरै सकस छ । बाहिर भने यस्तै भइरहेछ । भन्नेले भनिरहेछ, “हैन, चोर यसै टोलभित्रको हुनु पर्छ ।” चोर दोष लाउनेले दृढतापूर्वक दाबी गरिरहेछ, चोर यसै टोलको हो । पूरै टोललाई चोर बनाइरहेछ । मेरो ध्यान बेकारमा त्यतातिर बरालिइरहेछ । मैले आफूलाई सचेत तुल्याउन सस्वर भनेँ, “लेख्नतिर ध्यान दे ओ दाइ ! तेरो भविष्य चोर समात्नुसँग गाँसिएको छैन !” वरिपरि पनि हेर्नु थियो, कसैले मेरो सस्वर आत्मसचेतता सुनेर पछि गिल्ला गर्ने त होइन, “ओ दाइ, लेख्नतिर ध्यान दे !” अर्को दिन शनिबार थियो । शनिबार भए पनि अन्य बिदा परेको भए पनि हल्लालाई बिदाले छेक्न सक्तैनथ्यो । भनियो, “चोर थानामा थुनिएको छ ।” मलाई जिज्ञासा भयो, टोलैलाई चोर दोष लाग्नबाट वञ्चित गर्ने त्यो सौभाग्यशाली वा कुख्यात चोर को रहेछ ? थानामा आउनुजानु थिएन । सज्जनहरूले प्रहरी थानामा जानु नै किन ? थाना रहेको भवनबाट १० हात परैबाट तर्केर म हिँड्थेँ र सज्जन हुनुको प्रमाणपत्र आफूलाई दिन्थेँ । त्यस दिन सज्जन हुनतिर लागिनँ र दुर्जन भइए भइएला भनेर थानातिर लागेँ । संयोग परेको नै हो, थानाको इन्चार्जमा कृष्णबहादुर रहेछ । टाढाको मेरो भाइ । 

“दाइ यता कतै कोठा लिएर बस्नुभा’छ भन्ने सुनेको त थिएँ तर प्रहरीको जागिर, फुर्सत पाइने भए पो !” उसले फुर्तीसाथ भन्यो । भेट्न नआएकोमा अन्यथा अर्थ नलागोस् भनेर ऊ फुर्ती देखाइरहेको थियो । त्यो औपचारिकता छाडेर मैले भनेँ, “याँ तिमीहरूले चोर थुनेका छौ रे ? खै कस्तो छ त्यो ।” कृष्णबहादुरले हाँस्दै भन्यो, “सबैले त्यो चोर नै हो भन्न चाहेका छन् तर म उसलाई चोर भनेर पत्याइरहेको छैन ।” उसले पत्याए पनि नपत्याए पनि चोर हेर्ने उत्कट उत्कण्ठाले मलाई अधीर बनाइरहेथ्यो । “खै त त्यो चोर ?” पत्याए पनि नपत्याए पनि तर प्रहरीले नै ऊ चोर हुन सक्छ भन्ने नपत्याएपछि शङ्काको लाभ उसले पाउने नै हो तर एक पटक त्यो चोर महाशयलाई हेरूँ न त ।” 

चोर महाशय कृष्णबहादुरको अफिस कोठाको वल्लो कुनामा राखेको कुर्सीमाथि आरामले बसेर तातो चिया सज्जनतापूर्वक सुक्र्याइरहेको थियो । “ऊ त्यै हो, चोर भने पनि अरू केही भने पनि ।” मैले कृष्णले उसलाई हे¥यौँ, आदरपूर्वक औँल्याएको कुर्सीमा बस्दै । ऊ एक सामान्य मानिस थियो । नुहाइधुवाइ नभएकाले मैलो मैलो र टाउकामा फाटेको टोपी, जिउमा रङ खुइलिएको कमिज मात्र, कम्मरमुनि एउटा जिन प्यान्ट जुन घुँडाबाट च्यातिएर झुत्रा बाहिर देखिएका थिए । खुट्टा खाली थिए, धुलोहिलोले कटकटिएका । म उसलाई हेरिराखेको छु भन्ने आभास पाएर उसले मतिर हे¥यो र दाँत देखिने गरी मुस्कायो । दाँत पूरै बाक्लो, पहेँलो, गुजी लागेर बीभत्स थिए । मैले भने उसको मैलो रूप र अभावको पहिरनलाई अनि दाँतको गुजीलाई खुर्कीखार्की पारी हेर्दा राम्रै ठिटो हुन सक्ने पाएँ । 

“तिमी चोर हौ ?” मैले सामान्य रूपमै सोधेँ । स्वर यस्तो राखेँ मानौँ मैले धेरै चोरसँग प्रश्नोत्तर गरिसकेको छु । उसले होइनमा टाउको हल्लायो र एक सुर्को चिया तान्यो । यसैबिच कृष्णबहादुरले भन्यो, “चाँडै चिया उदरस्थ गर्ने र बाहिर कम्पाउन्डको घाँस खुर्कनतिर लाग्ने ।” यो त हुने रहेछ । सानोतिनो चोरी वा अन्य नगण्य अपराधका लागि केरकार गर्न थानामा राखिएकालाई केही न केही काम दिइँदो रहेछ । केही न केही भन्दा, घाँस खुर्कने वा सिजनका फूल रोप्ने वा बगैँचा रहेछ भने गोडमेल गर्ने, नभए रङ पोत्ने काममा खटाइने रहेछ । 

“अनि उताका टोलकाले त तिमी चोर हौ भनेर राति नै समातेर यता थानामा बुझाउन ल्याएका रहेछन् त । तिमी चोर नभए तिमी के हौ त ?” उसले चिया तुर्‍यो । “म गाउँबाट बसमा हिँडेको थिएँ, सहर पसेपछि कसो केही काम नपाइएला भनेर । सहरको कुनै होटेलमा छ/आठ वर्ष जुठा भाँडा माझेरै भए पनि पुग्दो रकम जम्मा गरेर खाडीतिर लागौँला भन्ने विचार थियो । खाडी जान नसके पारि भारततिरै छिर्छु भन्ने थियो तर बाटोमा बस बिग्रियो र सहरमा अबेर अँध्यारोमा ल्याइपुर्‍यायो । कता जाने कता जाने भनेर सोच्दै सोच्दै बस अड्डाछेउको यो टोलमा पसिएछ अनि म एउटा घरको पिँढीमा सुत्ने तर्खरमा थिएँ । रात धेरै छिप्पिइसकेको थियो । एउटा घरको पिँढीमा बास बसेँ ।” 

त्यसपछि ? उसले प्रहरीमा दिएको बयान अनुसार राति त्यो घरमा पछाडिको पर्खाल नाघेर वास्तवमै चोर पसेको रहेछ । चोरले घरको भित्तो फोरेर सेनमारी गर्दै थियो, घरकाहरूले थाहा पाएर गुहार गुहार भनेर चिच्याएपछि चोर भागेछ । घरको अघिल्लो भागमा सुतेको उसले चाल पाएपछि ऊ पनि भागेछ । त्यही क्रममा ऊ भाग्दै यता आएको रहेछ । ठ्याक्कै प्रहरी चौकीअगाडि आएर रोकिएपछि प्रहरीले “खबरदार ! भाग्लास् !” भनेर समातेछ । 

उसको बयानले एउटा सिङ्गो परिच्छेद त खायो खायो र विषयको त्यहीँ समापन हुने देखियो । खल्लो खल्लो लाग्यो, अझ असई कृष्णबहादुर जो मेरो टाढाको भाइ पथ्र्यो । उसले भन्यो, “यस मान्छेमा कुनै दम छैन । सोझो देखिन्छ । यसको तहकिकात गरेर गाउँतिर पठाउँछु । गाउँमा वृद्ध आमाबाबु छन् । पछि यसलाई कुनै राम्रो काममा लगाइदिनु पर्ला ।” पछि के उसले खाडीतिर पठाइदिने हो कि ? तर त्यताको धेरै खर्च लाग्थ्यो । उसले यति मात्र भन्यो, “स्वदेशमा काम पाएपछि विदेशतिर किन लाग्ने ?” 

रेमिट्यान्सको विषय पनि थियो । मुलुक रेमिट्यान्सले धानिएको छ पनि भन्थे । उसले भन्यो, “होला । यी राजनीतिका कुरा हामी ड्युटीवालाले गर्न मिल्दैन ।” यो वाक्य यस्तो थियो जसलाई छाप्दा असई कृष्णबहादुरको जागिरमा धक्का लाग्छ भन्ने लागेमा काटेर बाँकी भाग छाप्न पनि सकिन्थ्यो तर त्यो विषयान्तर गर्नतिर म लागिनँ । त्यो युवकको नाम के थियो त्यो सोध्न पनि बिर्सेछु । कति जनाको नामठेगान सोधिराख्न्नु भन्ने मलाई लाग्थ्यो । फेरि म कुनै पेपरको संवाददाता पनि थिइनँ, वास्तविक नाम परिवर्तित भनेर लेख्न । केही लेख्थेँ, विशेषतः कथा, कथाका लागि पात्रहरूको काल्पनिक नामको कमी थिएन ।

त्यसैले यो चोर दोष लागेर पनि अनुसन्धानबाट साबित हुन नसकेपछि उन्मुक्ति पाइरहेको युवक वा ठिटाको नाम भनूँ न कुलबहादुर भनिदिँदा केही फरक पर्ने थिएन । 

त पछिसम्म कुलबहादुरबारे केही खुल्दुली त मेरो मनमा गडेर बसेकै थियो होला । एक दिन सिभिल ड्रेसमा असई कृष्णबहादुर गाउँ जान यसै सहरको बस अड्डामा संजोगले भेट भयो । प्रमोसन पाएर असईभन्दा माथिल्लो दर्जामा पुगेको रहेछ । असईभन्दा माथिल्लो दर्जा के हो ? त्यो म जान्दिनथेँ । यहाँ इन्स्पेक्टर भएछ भनेर लेख्ने हो कि ? ठिकै रहेछ भने त चलिहाल्ला नत्र पाठकहरू हाँस्न पनि सक्छन्– प्रहरीहरूको सङ्गठनबारे नबुझी नजानी खोक्दो रहेछ भनेर । भेटपछि उसैले प्रसङ्गमा भनेको थियो, “मेरो प्रमोसन भयो दाइ । म गाउँ जाँदै छु नत्र केही गर्न हुन्थ्यो ।” के गर्ने ? म पिउँदिनथेँ । मिठाइसिठाई खान सुगरले छेक्थ्यो । बरु मैले नै उसलाई डेरामा लगेर एक छाक मासुभात खुवाउनुपर्ने थियो । यतै भेट भयो, झमेला मुक्त भइयो । गरिब होइन, पाहुना लागेर खानुपर्ने । गाउँमा पनि जग्गाजमिन पर्याप्त छ । 

बस आयो । ऊ चढ्नै लागेको मौकामा मैले हतार हतार सोधिहालेँ, “अनि भाइ कृष्ण, त्यो कुलबहादुर ठिटाको के भयो जसलाई चोर दोषमा थानामा बसालेका थियौ ?” 

“ए ऊ ? उसलाई त मैले तीनचार वर्षपछि भर्ना खुलेको बेला प्रहरीमै भर्ना गरिदिएँ नि । पढेलेखेको रहेछ, गाउँबाटै १० पास ग¥यो । लक्का जवान भएको छ । अहिले पनि आउँछ गाउँतिर बुवाआमालाई भेट्न । टुहुरो रहेछ । अहिले स्मार्ट भा’छ ।”  

Author

भाउपन्थी