• १३ पुस २०८१, शनिबार

युट्युब ट्रेन्डिङमा ‘मखमली’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १३ गते । चलचित्र ‘उनको स्विटर’ को हालै सार्वजनिक गरिएको नयाँ गीत ‘मखमली’ युट्युबमा ट्रेन्डिङमा छ । बिहीबार सार्वजनिक भएको गीतले दुई घण्टाभित्रै नेपालीको बाहुल्य रहेका विभिन्न देशमा ट्रेन्डिङमा प्रवेश गरेको थियो । गीत नेपालमा चौथो स्थानको ट्रेन्डिङमा रहेको छ भने माल्टामा पहिलो स्थान, कतारमा दोस्रो, युनाइटेड अरब इमिरेट्समा नवौँ, कुवेतमा तेह्रौँ र अस्ट्रेलियामा सत्ताइसौँ स्थानमा रहेको छ । गीतले नेपाली लोकसङ्गीतको चर्चित ‘कौडा/चुटका’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेतृ मिरुना मगरबिचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । गीतमा सुजन चापागाईं र सुनिता थेगिमले स्वर दिनुभएको छ । हर्क साउदको शब्द रचना, चापागाईंकै सङ्गीत र कोविद वज्रको सङ्गीत निर्माण रहेको गीतमा दीप गुरुङको नृत्य निर्देशन रहेको छ । अभिनेता विल्सनविक्रम राईको रोचक भूमिकाले गीतमा आकर्षण थपेको छ ।

आर्टमाण्डू प्रालिले निर्माण गरेको यो पहिलो चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गर्नुभएको हो भने सुरज कटुवालको सहलेखन रहेको छ । चलचित्रमा सुनील पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।