• १३ पुस २०८१, शनिबार

पुष्पलाल मध्यपहाडी राजमार्ग निर्माण अन्तिम चरणमा

blog

पुष्पलाल (मध्यपहाडी) राजमार्ग दैलेख सडकखण्ड । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता

दैलेख, पुस १२ गते । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत दैलेख खण्डको काम अन्तिम चरणमा पुगेको छ । दैलेख खण्डमा पर्ने १२५ किलोमिटर क्षेत्रमध्ये ठेक्का व्यवस्थापन भएको १२२.५ किलोमिटर क्षेत्रको काम अन्तिम चरणमा पुगेको हो । ठेक्का व्यवस्थापन भएको मध्ये हालसम्म आयोजना निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले जानकारी दिएको छ ।  

पुष्पलाल (मध्यपहाडी राजमार्ग योजनाका योजना प्रमुख इन्जिनियर अञ्जु परियारले ठेक्का व्यवस्थापन भएका खण्डमध्ये करिब दुई किलोमिटर क्षेत्रमा मात्र काम हुन बाँकी रहेको जानकारी दिनुभयो । 

उहाँले दैलेख खण्डमा पर्ने आठ वटा पुल निर्माणको कामसमेत सम्पन्न भइसकेको र बाँकी रहेका दुई वटा स्थानको काम सम्पन्न गर्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैलेख जाहारकोट खण्डको तीन सय मिटरमा अदालतबाट मुद्दा परेर यथास्थितिमा काम अगाडि नबढाउनु भन्ने आदेशका कारण काम हुन नसकेको र बजार क्षेत्रको सनत मोडमा समेत विवाद भएका कारण काम हुन सकेको छैन ।”  

आयोजनाका अनुसार निर्माण भइसकेको ठेक्काको म्यादसमेत समाप्त भइसकेको अवस्थामा त्यसको पुनर्निर्माणका लागि मन्घर खण्डको सुयाडामा सडक भत्केका कारण पुनर्निर्माणको काम अघि ठेक्कासमेत लगाइसकेको जनाएको छ । 

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले दैलेखको समग्र विकासमा टेवा पु¥याएको छ । दैलेखको पूर्व मन्घरदेखि पश्चिमको साइखोलासम्म सडक निर्माणको काम सम्पन्न भएपछि दैलेख जिल्लाको विकासको मेरुदण्डका रूपमा स्थानीय नागरिकले समेत लिने गरेका छन् । 

दैलेखको भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मीना थापाले मध्यपहाडी राजमार्गले जिल्लाको विकासमा महìवपूर्ण फड्को मारेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा गाउँमा हामीले यस्ता खालका सडक निर्माण गर्न सक्ने थिएनौँ, एउटा गौरवको आयोजनाले गाउँमा कालोपत्रे भएपछि नागरिकलाई समेत सहज बनाएको छ । अहिले गाउँमा उत्पादन भएको हिउँदे तथा नगदे बालीको बजारीकरण गर्नसमेत सहज भएको छ ।”राजमार्गको दैलेख खण्डका विभिन्न क्षेत्रमा साना बजारको विकास हुँदै गएको देखिन्छ । बजार विस्तारले ग्रामीण बस्तीका नागरिकले उत्पादन गरेका कृषि वस्तुलगायत अन्य सामग्री सहजै बिक्री गर्न पाएका छन् । यातायातका हिसाबले नागरिकलाई सहज बनाएको छ ।