• १३ पुस २०८१, शनिबार

‘बचाऊ भनेर याचना गरेँ, कोही आएनन्’

blog

बोक्सीको आरोपमा निर्घात कुटिएकी महिला अस्पतालमा । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, पुस १२ गते । “कपाल लुछ्दै घरबाट तानेर लगे । तँ बोक्सी होस् भन्दै समाजको अगाडि मलाई बेस्सरी पिटे । बचाऊ भनेर याचना गरेँ, बचाउन आउन कसैले आँट गरेनन्,” बोक्सी आरोपमा निर्घात कुटिनुभएकी पीडितले अस्पतालको शय्याबाट पोखेको दुःखेसो हो, यो । 

बोक्सी आरोप (कसुर र सजाय) ऐन, २०७२ ले कुनै व्यक्तिलाई बोक्सी आरोपमा अमानवीय, अपमानजनक व्यवहार गर्ने वा यातना दिने कार्यलाई दण्डनीय अपराध मानेको छ । तर सो ऐनविपरीत कैलालीको भजनी नगरपालिका–१ मा ३० वर्षीय एक चौधरी थरकी महिलामाथि निर्घात कुटपिटका साथै दुव्र्यवहार गरिएको छ । समाजको उपस्थितिमा बोक्सी आरोप लगाउँदै उहाँकै घरगोत्यार (घरका आफन्त) का केही व्यक्तिले निर्घात कुटपिट गरेका हुन् । 

बोक्सी आरोपमा पुस ४ गते आफूलाई आधा घण्टा कुटपिट गरेको पीडितको भनाइ छ । “करन, लहानु, बाबुराम, मनोज, रूपा, जयरामसहित सात जनाले मलाई कपाल लुछ्दै लट्ठीले कुटपिट गरे,” उहाँले भन्नुभयो, “शरीरमा पानी खन्याई खन्याई पिटेका छन् । कति लट्ठी भाँच्चियो, त्यसको लेखाजोखा छैन ।” आफूमाथि कुटपिट हुँदा समाज रमिते बनेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “उनीहरूले पिटिरहे । बचाउन कसैले हिम्मतै गरेनन् । मेरो देवरले मात्रै बचाउन खोजे । उनलाई पनि पिटियो । अरू हेरिरहे ।” 

कुटपिटबाट घाइते पीडितलाई सुरुमा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । त्यहाँ सुरुवाती उपचारपछि थप उपचारका लागि पुस ४ गते राति धनगढीको नवजीवन अस्पताल पु¥याइएको थियो । पोस्ट सघन उपचार कक्षमा पाँच दिन उपचारपछि मङ्गलबारदेखि उहाँलाई क्याबिनमा सारिएको छ । पीडितले आर्थिक अभावका कारण उपचार खर्च तिर्न सकेका छैनन् । पीडितका शरीरभरि निलडाम छन् । टाउको र शरीर अझै बेस्सरी दुख्ने गरेको उहाँले बताउनुभयो । 

पीडितका श्रीमान् काम गर्नका लागि भारतको पुना गएको हप्तादिन पनि पुगेको थिएन । श्रीमतीमाथि पुस १ गते पनि कुटपिट भएको थियो । त्यसपछि उहाँ पुस २ गते भारतको पुनाबाट घरका लागि हिँड्नुभएको थियो । “यस्तो हुन्छ भन्ने थाहा भएको भए म जाँदैनथेँ,” पीडितका श्रीमान्ले भन्नुभयो, “म यहाँ पुग्न एकैछिन ढिलो गरेको भए मेरी श्रीमतीलाई उनीहरूले मारिदिन्थे ।” 

पीडित पक्षका अनुसार घरगोत्यारका २८ वर्षीय मनोजलाई पहिलो पटक देवता चढेपछि देवीदेवता पूजा गर्ने भनेर पुस १ गते प्रत्येक घरबाट एक/एक हजार रुपियाँ उठाइयो । आफूसँग रुपियाँ नभएकाले भजनी नगरपालिका–५, लालबोझीमा रहेको आफ्नो माइती घरबाट एक हजार रुपियाँ मागेर पूजाका लागि बुझाएको पीडितको भनाइ छ । “पैसा बुझाएर बेलुकातिर म गहुँमा मलखाद हाल्न गएँ,” पीडितले भन्नुभयो, “म आउनु पर्छ कि पर्दैन भनेर सासूहरूले सोध्नुभयो जाडो हुन्छ, आउनु पर्दैन तर खानाचाहिँ नपकाउनु उनीहरूले भनेकाले मैले त्यस्तै गरेँ ।”

खेतबाट साँझ घर फर्केर भिडियो कलमा श्रीमान्सँग कुरा गरिरहेका बेला सासूहरूले नै घरमा आएर बोक्सीको आरोप लगाएको पीडितको भनाइ छ । “तँ हामीलाई धेरै दुःख दिन्छस्, बोक्सी होस् त्यसैले पूजामा आएनस् भन्दै मलाई आँगनमा लगे,” उहाँले भन्नुभयो, “आँगनमा घरका सबै पुरुष एकातिर महिला अर्कातिर बसेका थिए । बिचमा मलाई बसाएर बोक्सी कबोल गर्न लगाए । मैले कबोल नगर्दा कुटपिट गरे ।”

पुस १ गते राति बोक्सी आरोपमा आफूमाथि कुटपिट भएपछि दुई अवोध बच्चाका साथ त्रसित बनेकी पीडितले आफ्नो श्रीमान्लाई पुनाबाट फिर्ता बोलाउनुका साथै पुस २ गते इलाका प्रहरी कार्यालय भजनीमा निवेदन दिनुभएको थियो । पुस ४ गते पुनः उहाँमाथि कुटपिट दोहो¥याइयो ।  

पीडितको गाउँका भलमनसा लालबहादुर चौधरीका अनुसार घरगोत्यारका कोही एक जनालाई गुरुवा चढेपछि गोत्यारका अरू पनि बसेर गुरुवा खेल्ने चलन छ । त्यही क्रममा घटना भएको हो । भलमनसा चौधरीले पीडितले न्याय र पीडकले कानुन अनुसार सजाय पाउनुपर्ने बताउनुभयो । उहाँले घटनाबारे थाहा पाएपछि गाउँको अगुवाका नाताले आफू ढिलो मात्रै त्यो ठाउँमा पुगेको दाबी गर्दै भन्नुभयो, “उनीहरूलाई मैले रोक्न सक्ने अवस्था थिएन । गुरुवा चढेर काम्दै गरेकी रूपाले घटनाको भिडियो खिच्न भन्दै मलाई पनि दुई लट्ठी हानिन् । मैले नै त्यहाँ प्रहरी बोलाएको हो ।” प्रतिनिधि सभा सदस्य एवं भजनी नगरपालिका–२ वासी गङ्गाराम चौधरीले बोक्सी आरोपमा यातना दिनु अपराध रहेकाले दोषीमाथि कारबाही हुनुपर्ने बताउनुभयो । “घटनाबारे मैले पनि मिडियामार्फत थाहा पाएँ,” उहाँले भन्नुभयो, “त्यहाँ गएर म बुझ्छु । दोषीलाई कारबाही हुनु पर्छ ।”

बोक्सी आरोपमा कुटपिट गर्ने छ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । प्रहरीले ३५ वर्षीय रूपा चौधरी, ४५ वर्षीय लहानु डङ्गौरा, २८ वर्षीय मनोज चौधरी र ५१ वर्षीय बाबुराम डङ्गौरालाई पक्राउ गरेर कारबाही प्रक्रियाअगाडि बढाएको छ । जयराम र करन चौधरी भने फरार छन् । फरार दुवैको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।