• ११ पुस २०८१, बिहिबार

ट्रान्सफर्मर चोरी घटना वृद्धि

blog

ट्रान्सफर्मरभित्रको धातु चोरेर लगेपछिको ट्रान्सफर्मर । तस्बिर : शिवशङ्कर मिश्र

कलैया समाचारदाता 

बारा, पुस ११ गते । कलैया उपमहानगरपालिका–१७, सुराही टोलका एक वडा सदस्य दम्पतीलाई बन्दुक देखाएर चोरको समूहले गाउँको ट्रान्सफर्मर चोरी गरेका छन् ।

वडा सदस्य लक्ष्मी राउत कुर्मीलाई चार जनाको समूहमा रहेका चोरले बन्दुक तेर्साएर उहाँकै अगाडि विद्युत् ट्रान्सफर्मर चोरी गरेर लगेको सोही वडाका वडाध्यक्ष दीपेन्द्रप्रसाद कुशवाहाले बताउनुभएको हो । 

वडा सदस्य कुर्मीले आफ्नै बारीमा सोमबार राति मोटरबाट सिँचाइ गर्ने व्रmममा खाना खाएर राति १२ बजे निस्किएपछि घरनजिकै रहेको ट्रान्सफर्मर तल खसेको र त्यसबाट तेल चुहिँदै गरेको दृश्य देख्नेबित्तिकै आफूहरूलाई चोरको समूहले बन्दुक तेर्साएर सो ट्रान्सफर्मरभित्रका धातु लगेको बताउनुभयो ।

उहाँका अनुसार राति १२ बजे पोलबाट ट्रान्सफर्मर तल झारेको र हल्ला गरे मारिदिने धम्की दिएर आँखाअगाडि नै चोरी गरेर फरार भएका थिए । आफूहरूलाई उखुबारीमा लगेर छोडेको वडा 

सदस्य कुर्मीको भनाइ उद्धृृत गर्दै वडाध्यक्ष कुशवाहाले भन्नुभयो । 

सो वडामा अहिलेसम्म तीन वटा र कलैयाको वडा नं. १८, २१, २५ गरी एक महिनाको अन्तरालमा छ वटा ट्रान्सफर्मर चोरी भएको कुशवाहाले जानकारी दिनुभयो । ट्रान्सफर्मर चोरीको घटनामा विद्युत् कर्मचारीकै संलग्नता रहेको हुन सक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

यसै गरी करैयामाई गाउँपालिका–२ मा पनि एक साताअगाडि विद्युत् ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष सुरेन्द्र चौधरीले बताउनुभयो । अहिलेसम्म सो वडा अन्धकारमय बनेको छ । अर्को ट्रान्सफर्मर जडान गर्न विद्युत् प्राधिकरणको कार्यालयमा दैनिक धाउने गरेको उहाँले बताउनुभयो ।

केही दिनअगाडिदेखि नै जिल्लाका विभिन्न ठाउँबाट ट्रान्सफर्मर चोरी भएका छन् । तेलकुअवा चोकनजिकै रहेको व्रmसर उद्योगबाट, गञ्जभवानीपुर तथा बगड्मपुरमा सिँचाइका लागि जडान भएको ट्रान्सफर्मर, बिजुलपुर, सिसहनिया, मोतीसर, त्रिवेणी, विश्रामपुर र फेटामा ट्रान्सफर्मर चोरी भएको प्राधिकरणले जनाएको छ ।

चालु आर्थिक वर्षमा ट्रान्सफर्मर चोरीको घटना वृद्धि भएको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा, कलैयाका प्रमुख ऋषिकुमार वरनवालले स्वीकार्नुभयो । एक÷दुई वर्षअगाडि चोरको एउटा समूह समातिएको थियो । त्यसपछि बन्द भएको चोरी घटना अहिले फेरि हुन थालेकाले प्रहरीसँग सहकार्य भइरहेको उहाँले बताउनुभयो ।