• ११ असोज २०८१, शुक्रबार

इटहरी उपमहानगरपालिकामा काँग्रेसका हेमकर्ण विजयी

blog

इटहरी, जेठ ८ गते । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा पहिलो पटक नेपाली काँग्रेसका उमेदवार विजयी हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुनुभएको हो । 

प्रमुख पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का यामकुमार सुब्बाले २८ हजार ३१ मत प्राप्त गर्नुभएको छ । इटहरी उपमहानगरपालिकाको नेतृत्वमा प्रतिद्वन्द्वी सुब्बालाइ पाँच हजार १८ मतको अन्तरले पराजित गरी भएको पौडेलको विजय हुनुभएको हो । 

यता उपप्रमुखमा भने नेकपा (एमाले)की उम्मेदवार सङ्गीता चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी हुनुभएको छ । उपप्रमुखमा गठबन्धनको तर्फबाट उमेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी)का केशवकुमार विष्टले १८ हजार ३१ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा निर्वाचित चौधरीले विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरी विजयी हुनुभएको छ ।

कुल एक लाख ४ हजार मतदाता रहेको इटहरी मा ७३ हजार ८ सय ३२ मत खसेको थियो । जम्मा २० वटा वडा रहेको इटहरी उपमहानगरपालिकामा प्रमुख पदमा विजयी भएपनि काँग्रेसले अधिकांश वडाहरू गुमाएको छ । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको काँग्रेस यस पटक केबल चार वटामा खुम्चिएको छ । नेकपा एमालेले १५ वटा वडा जितेको छ भने एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएको छ ।

Author

सचिन पोख्रेल