गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताउनुभएको छ । बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले नेपाली राजनीतिमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताउनुभयो । उहाँले पपुलिजम र राजनीतिमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीका कमजोरी बाहिर ल्याएर सुधारका लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरू रहेको बताउनुभयो । उहाँले राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडि लागेर सञ्चार क्षेत्र अघि बढे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभयो । उहाँले पत्रकारीता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय राजनीतिमा अराजकता र पपुलिजम देखापरेको छ । यी दुई चिजले जरा फैलाउँदैछ । अराजकताको एउटा र पपुलिजमको अर्को समूह छ । यी दुवैलाई हामीले ख्याल गर्नु पर्नेछ । राजनीतिक पार्टीहरूका कमजोरीहरू छन्, त्यसलाई सञ्चार जगतले देखाउनु पनि पर्छ । सुधारका लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्छ । सबैले बुझ्नुपर्ने कुरा नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरू छन् । भविष्यको मार्गचित्र बनाएका राजनीतिक पार्टीहरू छन् । पपुलिजमका सस्ता कुराहरूका आधारमा अघि बढ्ने होइन, हामी सबैको ध्यान जान जरुरी छ भन्नुहुँदै नेता पोखरेलले भन्नुभयो, “राजनीतिक अराजकता र पपुलिजमबाट जोगिन जरुरी छ । यसमा हाम्रो ध्यान पुगेन भने मुलुक दुर्भाग्यतर्फ जान्छ । कम्युष्निट र कांग्रेस नेपाली राजनीतिमा मूल भूमिका निर्वाह गर्दै आएका पार्टी हुन् । कांग्रेस र कम्युनिष्टको बहुआयामिक सम्बन्ध छ । मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेका छौं । सबै क्रान्तिहरू पूरा गरेको छौं ।’
उहाँले नेपालमा कम्युनिष्ट र कांग्रेस नेपाली राजनीतिमा मूल भूमिका निर्वाह गर्दैआएका पार्टी भएकाले बहुआयामिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेर सबै क्रान्तिहरू पूरा गरेको उहाँको भनाइ छ ।