पर्यावरणीय सन्तुलन, वन्य जीवजन्तु, पशुपन्छी, कीटपतङ, दुर्लभ जीवजन्तु तथा वनस्पतिको संरक्षण गरी जैविक विविधताको उपयुक्त स्तर कायम गर्ने उद्देश्यले देशका विभिन्न भौगोलिक क्षेत्रलाई समेटेर राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रहरू स्थापना गरिएका छन् ।
वन्यजन्तुको सुरक्षाका लागि तोकिएको निश्चित स्थललाई निकुञ्ज भनिन्छ । हाल नेपालमा यस्ता राष्ट्रिय निकुञ्जको सङ्ख्या १२ रहेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज बढी चर्चामा रहने गर्छ ।
पर्सा, चितवन, मकवानपुर र नवलपरासी जिल्लाका भूभागमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । २०३० (सन् १९७३) सालमा स्थापना भएको यस निकुञ्जको कुल क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर रहेको छ ।
यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्रमा सालका रुख छन् । सन् २००० मा यहाँ एकसिङ्गे गैँडाको सङ्ख्या ५४४ भन्दा बढी पुगेको थियो ।
तर बढेको चोरीशिकारीले गर्दा गैँडाको सङ्ख्या सन् २००५ मा ३७२ मा झर्यो । पछिल्लो तथ्याङ्क अनुसार हाल यहाँ करिब छ सय गैँडा रहेका छन् ।
यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । सन् २०१८ को बाघ गणना अनुसार ९३ वटा वयस्क पाटे बाघ यस निकुञ्जमा रहेका छन् । यसै गरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी पनि यहाँ पाइन्छन् ।
यसरी विभिन्न किसिमका जीवजन्तुको वासस्थानले यस निकुञ्जलाई अझै धनी बनाएको छ । यिनै प्राकृतिक महत्वका वस्तुको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो ।
२०५३ सालमा निकुञ्ज वरपरको ७५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्रको घोषणा गरियो । हाल सो क्षेत्रमा संरक्षण र विकासका विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । यस निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने बीसहजारी ताललाई सन् २००३ मा अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रका रूपमा सूचीकृत गरिएको थियो । यस निकुञ्जले वाल्मीकि आश्रम र विक्रमबाबा जस्ता धार्मिक स्थलको समेत संरक्षण गरी स्थानीय धार्मिक परम्परालाई अझै फराकिलो बनाएको छ ।
यहाँका स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहयोग पुर्याउन प्रत्येक वर्ष कम्तीमा एक हप्ताका लागि खर, ढड्डी आदि सङ्कलन गर्नका लागि राष्ट्रिय निकुञ्ज खुला गरिन्छ । बर्सेनि हजारौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक यस राष्ट्रिय निकुञ्जको भ्रमणमा आउँछन् । जसले गर्दा यहाँका स्थानीय बासिन्दालाई रोजगारीको सुवर्ण अवसरसमेत प्राप्त भएको छ ।
यहाँ घडियाल गोहीको प्रजनन केन्द्र पनि छ । यहाँ सानैदेखि हुर्किंदै गरेका गोहीका बच्चा घाम र शीतल ताप्दै गरेको देख्न पाइन्छ । खोरमा राखिएको पाटे बाघ पनि यहाँ छ । हात्तीका बथान पनि देख्न सकिन्छ ।
राप्ती नदी किनारमा बसाइँ सरेर आएका चखेवाका जोडी लहरै देख्न सकिन्छ । घाम डुबेको दृश्य अवलोकनका लागि समेत पर्यटक सौराहा पुग्ने गरेका छन् । मयूर नाचेको, गैँडाले पानी खाएको, घडियालले नदी तरेको, हात्ती नुहाउँदै रमाइलो गरेको दृश्य पनि हेर्न पाइन्छ । निकुञ्जसँगै जोडिएको राष्ट्रिय प्रकृति संरक्षण कोषमा चञ्चले स्वभावका गैँडाका बच्चासँग पर्यटकले खेल्न सक्छन् ।
जैविक विविधताले नेपालकै धनी यो निकुञ्ज स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा विसं २०७९ सालमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण वर्ष मनाइएको थियो ।