• १० पुस २०८१, बुधबार

'शिक्षामा लगानी अनुसारको परिणाम आएन'

blog

लहान नगरपालिकामा लगानी अनुसारको शैक्षिक परिणाम आउन नसकेको विषयमा अन्तरक्रिया गर्दै सरोकारवालाहरू । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, पुस ९ गते । लहान नगरपालिकाको सामुदायिक विद्यालयहरूमा लगानी अनुसारको परिणाम आउन नसकेपछि सरोकारवाला निकायहरूले चिन्ता व्यक्त गरेका छन् । दलित जनकल्याण युवा क्लबले शिक्षामा सार्वजनिक लगानी विषयमा आयोजित विषयमा सरोकारवालाहरूसँग राखेको अन्तरक्रिया संवादमा यस्तो चिन्ता व्यक्त गरिएको हो । 

किशोरी उमेरका अभिभावकहरूले सामुदायिक विद्यालयमा शिक्षक शिक्षिकाहरूले आफ्नो शिक्षण कार्यमा इमानदार नभएको लहान –१४ की नेहा महतोले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, "आफ्नो छोरीलाई तीन वर्षदेखि विद्यालय पढाइरहेको छु । विद्यालयका एक पृष्ठ गृहकार्य कहिले पनि दिएको छैन । मेरी छोरीले किन अक्षर चिन्न नसकेको गुनासो गर्दा विद्यालयको शिक्षक शिक्षिका गैरजिम्मेवार भएर प्रस्तुुत भइरहेको अवस्था छ । शिक्षण अनुमतिपत्र लिएर शिक्षक सेवा आयोगबाट आएका शिक्षक शिक्षिकाहरूबाट कुनै प्रगति भइरहेको छैन । तर संस्थागत विद्यालयमा शिक्षण अनुमतिपत्र नलिएका विधार्थीहरूले पढाएको मेरी छोरी उमेरकी विधार्थीहरू अक्षर पनि चिन्छ लेख्छ पनि ।"

 श्री जनता आधारभुत विद्यालय मानिकदह लहान–२४ की स्वय सेवक शिक्षिका सरिता महतोले भन्नुभयो, "नियमित चार पृष्ठसम्म गृहकार्य दिने गरेका छौं तर कहिले पनि गृहकार्य गरेर आउँदैन । विद्यालयमा विधार्थीलाई दण्ड सजाय दिइयो भने विद्यालय नै आउँदैन । तसर्थ, अभिभावक सचेत नभएसम्म सामुदायिक विद्यालयलाई सुधार गर्न समस्या छ । सामुदायिक विद्यालयमा पढाउने दलित विपन्न समुदाय रहेका छन् । अभिावकहरूमा नै सचेतना नभएकोले सुधार गर्न कठिनाइ भएकै हो ।"

लहान नगरपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि नियमित अनुगमन, विद्यालयको भौतिक र शैक्षिक पक्ष सुधारका लागि अन्तरक्रिया शिक्षण सिकाइ तालिम स्वच्छता सम्बन्धी कार्यक्रम एक विद्यालय एक कम्प्युटर प्रयोगशाला एक कक्षा एक शिक्षक लगायतका आकर्षक कार्यक्रमहरू लागु गरेर अघि बढिरहेको शिक्षा शाखा प्रमुख अमिरी प्रसाद यादवले बताउनुभयो । उहाँले भन्नुभयो, "सामुदायिक विद्यालयको सुधारका लागि परीक्षा प्रणालीमा सुधार लगायतका कार्यक्रमहरू चलिरहेको छ । अपेक्षित सुधारको सुचाङ्क देखिएकै हो थप प्रयास जारी छ । पहिलेको तुलनामा प्रगतिउन्मुख रहेको छ ।"

सामुदायिक विद्यालयहरूको निरन्तर अनुगमनमा आफू स्वयम् नै सहभागिता देखाएर गरेको यत्रो लगानी अनुसारको परिणाम आउन नसक्नु चिन्ताको विषय भएको नगरउपप्रमुख तथा अनुगमन समितिका संयोजक रामचलितर महतोले बताउनुभयो । आठ करोड बजेट लगानी शिक्षा क्षेत्रमा लगानी गरेर १२५ जना स्वयमसेवक शिक्षक भर्ना गरिसकेको विद्यालयमा पर्खाल निर्माण भवन निर्माण कार्य कति विद्यालयमा सम्पन्न भएको कतिमा जारी रहेको छ । प्रत्येक महिना भइरहेको प्रधानाध्यापक बैठकले खासै परिणाम दिएको छैन । विद्यालयका शिक्षकभन्दा प्रधानाध्यापकहरूले आफ्नो पदीय कर्तव्य बिर्सेकोले परिणाम आउन सकेको छैन । विद्यालयको समयमा नगरपालिकाको शिक्षा शाखामा अनावश्यक भीड राम्रो होइन । शिक्षण कार्यमा राम्रा भन्दा हाम्रालाई ग्राहयता दिइने सोचले पनि परिणाम आउन नसकेको हो ।

 शिक्षा सरोकार मञ्च लहानका अध्यक्ष नेपाली साहको अध्यक्षतामा सम्पन्न संवाद कार्यक्रममा दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुन्केले सामुदायिक विद्यालयमा भर्ना रहेको दलित विपन्न बालबालिकाहरू मात्रै रहेकोले सामुदायिक विद्यालयमा सरकारले गरिरहेको लगानी अनुसारको परिणाम ल्याउन सबैको चासो हुनुपर्ने ध्यान आकर्षण गर्नु भएको थियो । 

दलित समुदायमा रहेका सामुदायिक विद्यालयहरूको अवस्थाबारे कार्यक्रमको संयोजक विनोदकुमार यादवले लगानी अनुसारको परिणाम नआएको तथ्याङक सहितको अवस्था र व्यवस्थाबारे प्रस्तुति राख्नुभएको थियो ।