• १० पुस २०८१, बुधबार

तम्घास सडकमा खाल्डै खाल्डा

blog

विद्युत् चोक देखी विद्युत् कार्यालय जाने सडकमा परेको खाडल । तस्बिर ः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस ९ गते । सदरमुकाम तम्घासकै सडकबिचमा  ज्यानै लिने खाडलहरू हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।  लामो समयदेखि सडकबिचमै रहेका खाडलहरू मर्मतका लागि रेसुङ्गा नगरपालिका तथा  सरोकारवाला निकाय मौन रहेको पाइएको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ९ विद्युत्, नापी र मालपोत कार्यालय जाने सडकमा ठुला ठुला खाडलहरू हुँदा दुर्घटना बढ्ने जोखिम भएको नेपाल विद्युत् प्राधिकरण गुल्मीका लेखा प्रमुख विष्णु न्यौपानेले गुनासो गर्नुभयो । कार्यालयमा जाँदा र आउँदा  उक्त सडकमा खाल्डाहरू भएकाले सवारी चलाउन र पैदल यात्री बचाउन समस्या हुने गरेको उहाँको भनाइ छ । खाडलबाट  आफूसँगै सवारी पनि बचाउनुपर्ने र पैदल यात्री पनि बचाउनुपर्ने हुँदा दुर्घटनाको जोखिम बढी हुने गरेको उहाँले बताउनुभयो ।

सदरमुकाम तम्घासकै सडकमा लामो समयदेखि रहेका खाडलहरू मर्मत नहुनु दुःखद भएको यहाँका स्थानीयहरूले जनाएका छन् । नगरपालिकाले अन्तका सडकहरू मर्मत गर्ने र यस सडकमा वषौँदेखी कुनै चासो नदेखाउनुले आफूहरू बत्तीमुनिको अँध्यारो जस्तै भएको स्थानीय सुरेश मरासिनीले बताउनुभयो । विद्युतचोक देखि विद्युत् कार्यालयसम्मको सडकमा खाल्डै खाल्डा भएकाले मोटरसाइकल चलाउन पनि समस्या हुने र दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ । घर अगाडि खाल्डामा हिलोसहितको पानी जम्मा हुने र सवारी आउँदा जाँदा उक्त जम्मा भएको पानी घरमा आउँदा थप समस्या झेल्नुपरेको यहाँका स्थानीयहरूले गुनासो गर्दै आएका छन् । बच्चाबच्चीहरु सडकमा निस्कँदा खाल्डोमा परेर थप दुर्घटना हुन सक्ने भएकाले थप समस्या भएको स्थानीयको भनाइ छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर९ का वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेले उक्त सडक मर्मत तथा कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।उक्त सडकमा देखिएको समस्यालाई आफूले नजिकबाट नियालेको बताउँदै समस्या समाधानका लागि वडा कार्यालय लागि परेको उहाँको दाबी छ ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिल ध्वज पन्थीले उक्त सडकलाई थप चौडा बनाई नाली व्यवस्थापनका साथै कालोपत्रे गर्ने गरी टेन्डर भएको बताउनुभयो । सो सडकमा रहेका सामान्य खाल्डाखुल्डीहरू पुर्ने काम गर्दै आए पनि दीर्घकालीन रूपमा समस्याको समाधान गर्ने गरी नगरपालिका लागि परेको पन्थीले बताउनुभयो । यस आर्थिक वर्ष भित्रैमा उक्त सडक चौडा पारी नालीसहित कालोपत्रे हुँदा सडक चिटिक्क हुने उहाँको दाबी छ ।