• ८ पुस २०८१, सोमबार

स्तनपान र बालमैत्री कक्ष स्थापना

blog

जुम्ला समाचारदाता

जुम्ला, पुस ८ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) मा स्तनपान र बालमैत्री कक्ष स्थापना गरिएको हो । 

चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले एक कार्यक्रमबिच स्तनपान कक्षको उद्घाटन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीका अनुसार प्रहरी कार्यालयले बालबालिकालाई खेलाउन बालमैत्री कक्ष स्थापना, आमाहरूले स्तनपान गर्न सजिलो हुने उद्देश्यका साथ स्तनपान कक्ष र बालमैत्री कक्ष स्थापना गरिएको हो । कार्यालय समयमा आमाहरूलाई दुध खुवाउनसमेत कठिन भएकाले समय मिलाएर स्तनपान कक्षको प्रयोग गर्न सकिने उहाँको भनाइ छ । 

प्रहरी नायब उपरीक्षक कामतीले स्तनपान कक्ष, बाल निगरानी कक्ष र बालमैत्री कक्षको स्थापना भइसकेकाले सेवाग्राहीलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले नगरपालिकाले स्तनपान कक्ष स्थापना गरेर नमुना काम गरेको बताउनुभयो । तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले महिला र बालबालिकाका क्षेत्रमा भने अनुसार काम गर्न नसकिएको जनाउनुभयो । उहाँले आगामी दिनमा महिला र बालबालिकाका क्षेत्रमा सशक्त योजना बनाई कार्यक्रम गरिने बताउनुभयो । 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ मा सरकारी, गैरसरकारी, निजी संस्थाले आआफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ । यसअघि केही वर्षअगाडि जिल्ला प्रशासन कार्यालय जुम्लामा तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेको समयमा जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको थियो ।