अविनाश चौधरी
धनगढी, पुस ७ गते । सवारी दुर्घटनामा घाइते हुनु भएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमलाई उपचार पश्चात आज डिस्चार्ज गरिदैंछ ।
उहाँको शरीरको भित्री भागमा चोट नलागेको देखिएपछि अस्पतालले आज ५ बजे डिस्चार्ज गर्न लागेको हो । पारिवारिक कामको सिलसिलामा भारतको पलिया जानू भएका बम शनिबार अपरान्हतिर भएको सवारी दुर्घटनामा परी सामान्य घाइते हुनु भएको थियो ।
उहाँ चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको निजी गाडी दुधुवा नेशनल पार्कमा भारतीय नम्बर प्लेटको कारसँग ठोक्किएको थियो । दुर्घटनामा राज्यमन्त्री बमकी पत्नी कल्पना पनि सामान्य घाइते हुुनु भएको छ । दुवैको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
राज्यमन्त्री बम र उहाँका श्रीमती दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार राज्यमन्त्री बमको नाक, खुट्टा र हातका औंलामा सामान्य चोट लागेको छ ।
यसैगरी, श्रीमती कल्पनाको छातीको तल दायाँतिर तल्लो भागको मांसपेशीमा चोट लागेको छ । दुवै जनाको भिडियो एक्सरे गरी हेर्दा भित्री चोट नदेखिएको डा. अन्सारीले बताउनुभयो । “त्यस्तो गम्भीर चोट नलागेको र भित्री चोट नदेखिएकाले आज उहाँहरुलाई डिस्चार्ज गर्दैछौं” डा. अन्सारीले भन्नुभयो ।