• ७ पुस २०८१, आइतबार

सम्पदाबारे पुस्तिका ‘फर्पिङ दक्षिणकाली’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ७ गते । दक्षिणकाली क्षेत्रको विविध धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्वका सम्पदाबारे लेखिएको ‘फर्पिङ दक्षिणकाली’ पुस्तिकामा सार्वजनिक भएको छ । सुकुण्डा ल्याय्म्ह पुचःद्वारा शनिबार आयोजित कार्यक्रममा  दक्षिणकाली नगरप्रमुख मोहन बस्नेतले बुकलेटको लोकार्पण गर्नुभएको हो । उहाँले पुस्तिकामार्फत दक्षिणकाली नगरको पहिचानका रूपमा रहेका धार्मिक, सांस्कृति र ऐतिहासिक सम्पदाबारे प्रचार हुने र आन्तरिक पर्यटन भित्र्याउन योगदान पुग्ने विचार व्यक्त गर्नुभयो । नगरप्रमुख बस्नेतले दक्षिणकाली नगरमा दक्षिणकाली मन्दिरका साथै दिनभर घुम्न मिल्ने तर ओझेलमा परेका स्थान चर्चा गरिएको पुस्तिकाले नगरका सम्पदालाई चिनाउने उहाँको भनाइ थियो । 

अन्वेषक पदम श्रेष्ठले लेख्नुभएको पुस्तिकामा दक्षिणकाली क्षेत्रको धार्मिक र ऐतिहासिक विभिन्न मठमन्दिर, विहार, स्तूपा, गुफालगायत विस्तृत विवरण समावेश गरिएको छ । सुकुण्डा ल्याय्म्ह पुचःका अध्यक्ष ध्रुव श्रेष्ठले पुस्तिकामा धार्मिक सम्पदा, स्थानीय कृषिजन्य उत्पादन, खाना, पदमार्ग, जात्रापर्वको समेत चर्चा गरिएकाले दक्षिणकाली मन्दिरको दर्शन गरेर दिनभर नगरमा घुम्न मिल्ने स्थानबारे उजागर भएको बताउनुभयो । पुख्र्यौली जमिन नबेचौँ, कृषि पर्यटनको प्रवर्धन गरौँ भन्ने अभियन्ता प्रेमराज बासुकलाले फर्पिङ बस्तीभित्रका सात टोलमा रञ्जना लिपिको ढुङ्गे स्तम्भ स्थापना गर्न ३२ हजार रुपियाँ प्रदान गर्नुभयो । सोही अवसरमा फर्पिङ क्षेत्रमा रही विभिन्न रचनात्मक कार्य समाजसेवा गर्दै आइरहनुभएका गणित विषयका शिक्षक ध्रुव श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पुस्तिकामा गोपालकालिन सम्पदा स्थल गोपालेश्वर र नजिकै आदिवासी राजा वाणासुर र उनकी छोरी उषा मैयाँको दरबारको भग्नावशेष, नेपालकै पहिलो र दक्षिण एसियाको दोस्रो जलविद्युत् पावर हाउस चन्द्र नहर पोखरीबारे लेखिएको छ । त्यसै गरी वज्रयानी धर्म गुरु ओदियानाचार्यद्वारा स्थापित वज्रयोगिनी मन्दिर, गुरु गोरखनाथको पदचिन्ह, असुरा गुफा र प्राचीन दक्षिणकाली मन्दिर, किराँतकालिन राजा पब्बी अर्थात् पचली भैरवको दरबार, ३३ कोटी देवीदेवताको संयुक्त स्वरूपको मन्दिर झसु भम्केश्वरी र फर्पिङकै सबैभन्दा पुरानो वसु बर्माकालिन शिलापत्रलगायतका सम्पदा समेटिएका छन् ।