• ८ पुस २०८१, सोमबार

नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडी सेवा बन्द

blog

शिक्षण अस्पतालको ओपिडीमा ताल्चा लगाउँदै आन्दोलनरत कर्मचारी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस ५ गते । तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडी सेवा पूर्ण रुपमा बन्द गराएका छन् । 

पश्चिम नेपालकै सबैभन्दा ठुलो निजी अस्पताल कोहलपुर शिक्षण अस्पताल र नेपालगन्जस्थित शिक्षण अस्पतालको ओपिडी सेवा आन्दोलनरत कर्मचारीले बन्द गराएपछि बिरामीलाई समस्या भएको छ । 

सरकारले तोकेको तलब बृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलनमा उत्रिएका मेडिकल कलेज र शिक्षण अस्पतालका कर्मचारीले बुधवार र बिहीबार आधा समय ओपिडी बन्द गराएका थिए । तर उनीहरुको माग सुनुवाइ नगरिएपछि शुक्रबारबाट दुबै अस्पतालका ओपिडी सेवा पूर्ण रुपमा बन्द गराउनुका साथै मेडिकल कलेजको पढाइ पनि बन्द गराइएको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताउनुभयो । उहाँले अस्पताल व्यवस्थापनले कर्मचारीका जायज माग पूरा गर्नुको सट्टा उल्टै धम्की दिने र तर्साउने विज्ञप्ति जारी गर्ने गरेको जनाउँदै अस्पतालका ओपिडी सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको बताउनुभयो । 

बिरामीको समस्यालाई हेरेर हाललाई आपतकालीन सेवा जारी राखिएको जनाउँदै संयोजक गिरीले माग पूरा नगरिए थप अगाडि बढ्ने चेतावनी दिनुभयो । नेपालगन्ज र कोहलपुर दुबै अस्पतालको ओपिडी सेवा बन्द गरिएकोले शुक्रवार धेरै बिरामी अस्पताल पुगेर उपचार नपाई फर्किएका थिए । 

विभिन्न बहानामा सेवा शुल्क अत्यधिक वृद्धि गरेको मेडिकल कलेज र सो अन्तर्गतका अस्पतालहरुले कर्मचारीको तलब पनि वृद्धि गर्नुपर्ने सर्वसाधारणको माग छ । 

नेपालगन्ज ११ का जावेद राईले मेडिकल कलेजका दुबै अस्पतालले आफ्नो सेवा शुल्कमा अत्यधिक वृद्धि गरेर बिरामीको ढाड सेक्ने काम गर्न हुने तर कर्मचारीले तलब वृद्धिको माग गर्न नहुने भन्ने मान्यता गलत भएको बताउनुभयो । उहाँले अत्यधिक वृद्धि गरिएका विभिन्न शुल्कहरु घटाउन हस्तक्षेप गर्न स्थानीय प्रशासनसँग माग गर्नुभयो । 

लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी हाल आन्दोलनमा छन् । 

आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबीच पटक–पटक वार्ता भए पनि निष्कर्ष ननिस्कँदा आन्दोलनलाई निरन्तरता दिनुपरेको कर्मचारीको भनाइ छ । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए । सो मागपत्रका सम्बन्धमा अस्पताल व्यवस्थापन र कर्मचारीका बीच पटक–पटक वार्ता हुँदा अस्पतालको व्यवस्थापन पक्ष कर्मचारीका माग पूरा गर्ने कुरामा सराकात्मक नदेखिएकोले आन्दोलन बढ्दै गएको हो ।