जीवछ यादव
लहान, पुस ५ गते । व्यक्तिगत घटना अन्तर्गत जन्मदर्तासम्बन्धी जनचेतनाका लागि जनकपुरका मैथिली भाषा अभियानी कलाकारद्वारा लहानमा सडक नाटक गरिएको छ ।
मधेशका आठवटै जिल्लामा दलित विपन्न समुदायले समयमा जन्मदर्ता नगराउँदा विद्यालयमा भर्ना हुन नपाउने र सरकारबाट आउने सेवासुविधाबाट समेत वञ्चित भइरहेको समाचार आइरहेकोले जनचेतनाको लागि रामनारायण ठाकुर, गङ्गाकान्त झा, अवधेश मण्डल, रोशनी कर्ण, सुनीता पासवान, राजेश सक्सेनालगायतका कलाकारले लहानको मुख्य चोकमा जन्मदर्तासम्बन्धी नाटक प्रदर्शन गरेका हुन् ।
नाटकमा विधार्थी, शिक्षक, पालिकाका जनप्रतिनिधि, अचेत अभिभवाकको भूमिकामा कलाकारहरुले आधा घण्टा देखाएको सडक नाटकले बच्चा जन्मेको ३५ दिनसम्ममा जन्मदर्ता गराए कुनै शुल्क नलाग्ने, आमाबुबा नातेदार कोही नभए पनि जनप्रतिनिधिहरुको रोहवरमा जन्मदर्ता पाउने कानुनी व्यवस्थाबारे नाटकको प्रस्तुतिबाट प्रष्ट गरिएको थियो ।
जन्मदर्ता नभएपछि विद्यालयमा भर्ना गर्न नसकिने र विद्यालयबाट दिइने छात्रवृत्ति, पाठ्यपुस्तक दिन नमिल्ने अवस्था रहेकोले नाटकबाट देखाएको थियो । लहानको मुख्य चोकदेखि दक्षिणमा रहेको बाक्लो मुसहर र डुम समुदायको बस्तीमा अझै पनि जन्मदर्ता नगराउँदा विद्यालयमा भर्ना अभियानमा प्रभावित भइरहेको श्री जनता आधारभूत विद्यालय लहान मटियर्वाका प्रधानाध्यापक बद्रीनारायण चौधरीले कलाकारहरुले प्रस्तुुत गरेको नाटक निकै सन्देशमूलक भएको बताउनुभयो ।
लहान–१ की मिना मरिक(डुम)ले भन्नुभयो, "यो नाटकले आँखा खोलिदियो । नजिकै रहेको मुसहर समुदाय र डुम समुदायको लागि यो नाटक निकै सन्देशमूलक रहयो । नाटकबाट ग्रहण गरेको सन्देशलाई बुझेर जन्मदार्ता विवाहदर्ता र मृत्युदर्ता जस्ता व्यक्तिगत घटनाका लागि चेतना भयो ।"
बिहानै आठ बजेतिरि देखाएको नाटकमा कलाकारहरुले आफ्नो भूमिकाबाट दर्शकहरु मनमोहित मात्रै होइन गम्भीर र भावुक बनाएको दलित अभियानकर्मी सोनिया सदायले बताउनुभयो । उहाँका अनुसार यो नाटकलाई मोबाइलमा रेकर्ड गरेर मुसहर समुदायको बस्तीमा अभियानको क्रममा देखाउनेछु । मदिरा सेवन गर्ने बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने पटक्कै ध्यान नदिइने मुसहर समुदायका पुरुषहरुलाई पनि यो नाटकले आँखा खोल्नेछ ।