• ५ पुस २०८१, शुक्रबार

‘कोलबुङ–रमिते गौंडा झोलुङ्गे पुल’ निर्माण सम्पन्न

blog

झापा,  पुस ५ गते । शिलान्यास गरिएको  पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुल निर्माण भएको छ । सङ्घीय सरकारको रु. पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने चार सय ७६ मिटर लामो उक्त ‘कोलबुङ–रमिते गौंडा झोलुङ्गे पुल’ टिमाई नदीमा बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताका अनुसार विसं २०८१ जेठ २४ गते उक्त पुलको निर्माण सम्झौता भएको थियो । सम्झौतामा निर्माण अवधि  २०८३ जेठ २३ गतेसम्म तोकिएको थियो ।

सम्झौता भएको एक महिनापछि २०८१ असार २४ मा  सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको थियो । निर्माणको ठेक्का लिएको कम्पनीले शिलान्यास भएको पाँच महिना र सम्झौता भएको छ महिनामै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेको हो । “निर्माण व्यवसायी पक्षले निर्माण कार्य सम्पन्न गरिसकेको छ”, उहाँले भन्नुभयो, “सरकारी तहबाट अन्तिम परीक्षण हुन बाँकी छ । चाँडै अनुगमन गरेर पुलको हस्तान्तरण प्रक्रिया अघि बढ्नेछ ।”

दुई वर्षमा बनिसक्ने भनिएको झोलुङ्गे पुल छ महिनामै निर्माण भएको देखेर आफू चकित भएको बुद्धशान्ति –६ का शिवराज पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “हिजोअस्ति जस्तो लाग्छ पुलको शिलान्यास भएको, ठेकेदारले यति छिटो काम सम्पन्न गर्लान् भनेर कल्पनासमेत गरिएको थिएन ।” 

मङ्सिरको अन्तिम सातादेखि पुलबाट सर्वसाधारणले आवतजावत गर्न थालिसकेका छन् । प्रदेशकै लामो पुल भएकाले घुम्न, हेर्न र फोटो भिडियो खिच्न  युवायुवती आउन थालेकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । पुल बन्नुअघि बुद्धशान्तिको वडा नं ६ बाट ७ मा जान स्थानीयवासीले सकस भोग्दै आएका थिए । पुल बनेपछि बुद्धशान्तिका वडावासीलाई आउजाउका लागि मात्र नभएर इलामको रोङ गाउँपालिका वडा नं ५ र ६ का बासिन्दालाई आफ्नाे कृषिउपज झापाको बजारमा पुर्‍याउन सुविधा पुगेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

भौतिक पूर्वाधारका अधिकांश निर्माण कार्यमा ढिलासुस्तीको गुनासो आउने पाइन्छ । तर सम्झौतामा दिइएको अवधिको तुलनामा एक चौथाइ अवधिमै पुलको निर्माण सम्पन्न भएकोमा स्थानीयवासी खुसी रहेको पौडेल बताउनुहुन्छ । 

‘कोलबुङ–रमिते गौंडा झोलुङ्गे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डि–टाइप’को झोलुङ्गे पुल रहेको इन्जिनियर गुप्ताले बताउनुभयो । सिराहामा निर्माण भएको एक हजार पाँच सय मिटर लामो झोलुङ्गे पुलसमेत सोही निर्माण व्यवसायीले तोकिएको समयअगावै बनाएको उहाँले जानकारी दिनुभयो ।

“निर्माण छिटो हुने कि ढिलो हुने भन्ने कुरा निर्माण व्यवसायीको कामको गति र इमानदारीमा निर्भर हुन्छ”, उहाँले भन्नुभयो, “अटेरी प्रवृत्तिका कारण कतिपय काम ढिलो हुन्छन् । ठेकेदारले चाहे भने १८ महिना लाग्ने काम चार महिनामै पनि पूरा गर्न सक्छन् ।” रासस