• ७ वैशाख २०८२, आइतबार

गुप्तवराह मन्दिरको जीर्णोद्धार गरिँदै

blog

गुप्तवराह भगवान्को जीर्णोद्धारका लागि सिँढी निर्माण हुँदै ।तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, पुस ५ गते  । पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रूपमा रहेको कौशिकी तटको किनारमा रहेको गुप्तवराह मन्दिरको जीर्णोद्धार सुरु गरिएको छ । स्थानीय पण्डित योगेश भण्डारीको अगुवाइमा वराहक्षेत्र नगरपालिका–१ मा रहेको गुप्तवराहको ओढारको जीर्णोद्धार सुरु गरिएको हो । 

चतराबाट तीन किलोमिटर उत्तर वराहक्षेत्र मन्दिर जाने सडकको सत्र नम्बर भिर र कृष्णभिरको बिचमा रहेको गुप्तवराह जाने ठाउँमा सिँढी निर्माण गर्न सुरु गरिएको छ । कोशी नदीको किनारभन्दा २६ फिटमाथि रहेको गुप्तवराहको ओढार पुग्न एक हजार चार सय सिँढीको खुड्किला बनाउनुपर्ने प्रारम्भिक अनुमान गरिएको पण्डित योगेश भण्डारीले बताउनुभयो । निर्माण कार्यमा श्रद्धालुको सहयोगले सिँढी निर्माण गरिँदै आएको उहाँले बताउनुभयो । श्रद्धालुकै सहयोगबाट ४६१ वटा सिँढी निर्माण भइसकेको उहाँले बताउनुभयो ।  

वराह भगवान्को प्रथम मानव पुजारी औलिया बाबाको पुकारमा गुप्तवराहमा वराह भगवान् प्रकट हुनुभएको जनश्रुति रहेको छ । गुप्तवराहबारे बताउँदै पण्डित भण्डारीले भन्नुभयो, “एक दिन वराह भगवान्को नित्य आरति गर्न चतरा मठबाट वराहक्षेत्र आउने क्रममा औलिया बाबालाई ज्वरोले शिथिल बनाएर वराहक्षेत्र पुग्न सक्नुभएन । ज्वरोले ग्रस्त बाबा कोशी किनारको बाटोछेउमै रहेको ओढारमा पसेर वराह भगवान्लाई पुकार गर्ने क्रममा वराह भगवान् प्रकट हुनुभएको किंवदन्ती रहेको छ ।” बाबाले यही ओढारमा भगवान्को भाव आरति गर्नुभएको पण्डित भण्डारीले बताउनुभयो । औलिया बाबाको पुकार सुनेर वराह भगवान् ओढारमै गुप्त रूपमा प्रकट हुनुभएकाले यस स्थलको नाम गुप्तवराह रहन गएको भनाइ छ । वराह भगवान् प्रकट भएसँग यहाँ पूजाअर्चना गर्न थालिएको पण्डित भण्डारी बताउनुहुन्छ । 

ओझेलमा परेको गुप्तवराहको ओढारलाई जीर्णोद्धार गरी धार्मिक, पर्यटकीय स्थलका रूपमा विकास गर्न जनस्तरबाट जीर्णोद्धारको काम गरिँदै आएको पण्डित योगेश भण्डारीले बताउनुभयो । पण्डित भण्डारीका अनुसार पहिलो चरणरमा ओढारसम्म जाने सिँढी निर्माण गरिने र त्यसपछि आँगन र ओढारभित्रको जीर्णोद्धारको काम गरिने छ । कोशी नदीसम्म पुग्ने सिँढीसमेत बनाइने छ । उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण दु्रत रूपमा काम हुन सकेको छैन ।” मनकारीको सहयोगबाट सिँढी निर्माणको काम हुँदै आएको पण्डित योगेश भण्डारी बताउनुहुन्छ । गुप्तवराह जीर्णोद्धार उपसमिति संयोजक रवि श्रेष्ठलगायत समितिले सिँढी निर्माणको काम गर्दै आएको बताइएको छ ।  

भागवान् गोप्य रूपमा प्रकट भई दर्शन दिएको ओढारको जीर्णोद्धार गरी धार्मिक पर्यटन भिœयाउने मुख्य लक्ष्यका साथ कामलाई अगाडि बढाइए पनि सरकारी योजनामा नपर्दा ऐतिहासिक तथा धार्मिक क्षेत्रको उन्नयन हुन सकेको छैन । भौतिक विकास, ऐतिहासिक पक्षको संरक्षण, जीर्णाेद्धार, प्रवर्धन गर्दै लैजान  सरोकारवालाको सहयोग आवश्यक रहेको जीर्णाेद्धार समितिले जनाएको छ । सडक सञ्जालको विस्तारसँगै कोशी किनारको बाटो बन्द भएपछि गुप्तवराह थप ओझेलमा पर्दै आएको थियो । अहिलेका नयाँ पुस्तालाई  गुप्तवराह र औलिया मठबारे जानकारी नहुँदा संरक्षण र संवर्धन गरी प्रचारप्रसारमा लाग्नुपर्ने अग्रजहरू बताउँछन् । ऐतिहासिक र पुराताìिवक महìव बोकेका धार्मिक स्थलको संरक्षण गर्नु सबैको दायित्य रहेको धार्मिक गुरु यातिन्त्रराज आचार्य बताउनुहुन्छ ।