• ८ पुस २०८१, सोमबार

‘माटो सुहाउँदो विकास र समृद्धिका आधार तय गरेका छौँ’

blog

खिमनारायण मानन्धर अध्यक्ष, हरिनास गाउँपालिका

स्याङ्जाको दक्षिणपूर्वी भेगमा अवस्थित हरिनास गाउँपालिका २०७३ सालमा गठन भएको हो । जिल्लाकै ठुलो एवं प्रख्यात हरिनास वनको नामबाट यस गाउँपालिकाको नामकरण गरिएको हो । विसं २०७८ जनगणना अनुसार यहाँको जनसङ्ख्या १७ हजार ३४३ रहेको छ । हरिनास गाउँपालिका साविकको चिसापानी, चित्रे र क्याक्मी गाविसको पूरै वडा र चिन्नेवास तथा किचनास गाविसका केही वडा मिलाएर बनाइएको हो । यस पालिकाको पूर्वमा तनहुँको भिमाद नगरपालिका, उत्तरमा शुक्लागण्डकी नगरपालिका, पश्चिममा बिरुवा गाउँपालिका र चापकोट नगरपालिका तथा दक्षिणमा चापाकोट नगरपालिका रहेका छन् । २०७९ सालको स्थानीय तहको चुनावमा गाउँपालिकाको अध्यक्षमा खिमनारायण मानन्धर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । अध्यक्ष मानन्धरसँग गोरखापत्रका समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :  

पालिकाको विकास र समृद्धिका आधार के कसरी तय गरिरहनुभएको छ ?

हामीले हरिनास गाउँपालिकाको विकास र समृद्धिका लागि यहाँको भू बनावट, माटो सुहाउँदो हुने गरी विकास र समृद्धिका आधार तय गरेका छौँ । कृषि, पर्यटन, ऊर्जा, स्वास्थ्य, खानेपानी, रोजगार, शिक्षा र कृषिमा आधारित उद्यमलाई हामीले हाम्रो विकास र समृद्धिका आधार तय गरेका छौं । पूर्वाधार र खानेपानीलाई प्राथमिकता दिएका छौँ । पर्यटनलाई आर्थिक उपार्जनमा जोड्न होमस्टे, मठमन्दिर आदिको प्रभावकारी विकास गरिरहेका छौँ । 

दोस्रो कार्यकालमा अध्यक्ष भएर काम गर्दै गर्दा पहिलाभन्दा के फरक महसुस गर्नुभएको छ ?

पहिलो कार्यकालको सुरुवाती चरणमा ऐन, कानुन, कर्मचारी अभाव, सूचना प्रविधिको कम पहुँच जस्ता अप्ठ्याराले कार्यसम्पादन निकै कठिन भयो । कोभिड–१९ को महामारीसँग जुध्न नै धेरै समय खर्चिनु पर्‍यो । यसका बाबजुद पहिलो कार्यकालमा विकास र समृद्धिको जग बसाल्न हामी सफल भयौँ । जनतालाई सिंहदरबारको अधिकार घर घरमा पुर्‍याउन सहयोग गरेकैले मलाई पुनः दोस्रो पटक गाउँपालिका अध्यक्ष हुने अवसर प्राप्त भयो । दोस्रो कार्यकालमा अघिल्लो अनुभवका कारण काम गर्न निकै असहज भएको छ । अहिले प्राथमिकताका काम पहिचान गर्न सकेका छौँ । आवश्यकताका आधारमा योजना बनाई काम गर्न सजिलो भएको छ । 

पालिकाको पूर्वाधार निर्माण र पर्यटन प्रवर्धनका लागि कस्तो काम भइरहेको छ ?

हामी निर्वाचित भएर आइसकेपछि यहाँको पूर्वाधार क्षेत्रमा निकै ठुलो फड्को मारेको छ । करिब १३ किमी पक्की सडक, ४० किमी ग्राभेल, ६५ किमी कच्ची सडक थप भएका छन् । हरेक वडा कार्यालयमा पुग्ने सडकलाई व्यवस्थित बनाउने काम गरिरहेका छौँ । 

खानेपानीका क्षेत्रमा एक घर एक धारा पूर्ण रूपमा कार्यान्वयन गरी आगामी आर्थिक वर्षसम्ममा सबै घरमा धारा पुर्‍याउने अभियानमा छौँ । हालसम्म दुई हजार ३७० घरमा धारा पुगिसकेको छ । सिँचाइका कुलो निर्माण भइरहेका छन् भने लिफ्टिङ सिँचाइमार्फत खेतीयोग्य जमिन सिञ्चित गर्ने काम गरिएको छ ।

त्यस्तै गाउँपालिकाले सुरुवाती समयदेखि नै पर्यटन पूर्वाधार निर्माण, संरचनाको मर्मतसम्भारका कार्य गर्दै आइरहेको छ । गाउँपालिकाको पर्यटकीय स्थलमा सडक पहुँच पुर्‍याइएको छ । पर्यटकीय स्थल गिरकोट भैरवकालिका मन्दिर, खैरिकोट होमस्टे, पुर्काेट भ्युटार चुलीडाँडा पिकनिक स्थल, धुपडाँडा जस्ता स्थलसँग जोड्ने कार्य भएका छन् । त्यस्तै पर्यटकलाई रात बिताएर यहाँ खर्च गराउने गरी हामीले वातावरण निर्माण गरेका छाैँ ।

कृषि क्षेत्रको विकासका लागि केही नयाँ कार्यक्रम बनाउनुभएको छ ?

कृषि क्षेत्रको विकासका लागि सुरुवाती समयदेखि नै लागि परेका छौँ । यहाँका किसानलाई व्यावसायिक बनाई आत्मनिर्भर बनाउने विषय हाम्रो प्राथमिकतामा परेको छ । 

व्यावसायिक तरकारी तथा फलफूल खेतीलाई प्रोत्साहन गरिएको छ । कृषि आधुनीकरणका लागि किसानलाई हाते ट्याक्टर अनुदानमा वितरण गरिएको छ । कृषकको क्षमता विकासका लागि आधुनिक कृषि प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेका छौँ । माटोको उर्वरा शक्ति कायम गर्न माटो परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको छ भने जैविक बाली संरक्षण सामग्री निःशुल्क वितरण गरिएको छ ।

प्रदेश र सङ्घ सरकारसँग समन्वय र सहयोग भएको छ ?

मुलुकको समग्र विकास र समृद्धिका लागि तीनै तहका सरकारको समन्वय आवश्यक पर्छ । आपसमा समन्वय नगरी अगाडि बढ्न सकिँदैन । त्यसैले स्वाभाविक रूपमा प्रदेश र सङ्घ सरकारसँग सहयोग र समन्वय भइरहेको छ । त्यसमा पनि स्थानीय तह जुन तल्लो तहमा जनताको निकटमा रहेर कार्य गर्छन् त्यसको विकासका लागि सबै पक्षको समन्वय आवश्यक छ । कतिपय सन्दर्भमा सङ्घले पनि स्थानीय तहको समस्या बुझेर अगाडि बढोस् भन्ने मेरो आग्रह हो । 

स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रको विकासका लागि के कसरी काम गर्नुभएको छ ?

शिक्षातर्फ पञ्चवर्षीय योजना निर्माण गरी शिक्षालाई सुधार गर्ने प्रयास गरिएको छ । विद्यालयमा विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिँदै स्वच्छ पिउने पानी, सेनेटेरी प्याड आदिको व्यवस्था गरिएको छ । विद्यालयलाई सूचना प्रविधिसँग जोड्न १५ वटा प्राथमिक विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । प्रारम्भिक बालविकास कक्षा (इसिडी) कक्षाको व्यवस्थापन गर्ने काम भइरहेको छ । साथै गाउँपालिकामा प्राविधिक शिक्षातर्फ बाली विज्ञान प्राविधिक शिक्षालय सञ्चालन गरिएको छ । स्वास्थ्य क्षेत्रमा पनि पालिकाले प्राथमिकताका आधारमा काम गर्दै आएको छ । सुत्केरीसँग उपाध्यक्ष पोषण कार्यक्रमलगायतका काम प्रभावकारी भएका छन् । स्वास्थ्य चौकीलाई गुणस्तरीय बनाउन पालिकाले काम गरिरहेको छ । सामाजिक विकासका क्षेत्रमा पालिकाले निरन्तर काम गर्दै आइरहेको छ । 

निर्वाचनमा गरिएका प्रतिबद्धता के कति पूरा गरिए ?

निर्वाचनअघि जनतासँग गरेका प्रतिबद्धतामध्ये धेरैजसो पूरा भएका छन् । दीर्घकालीन महत्व बोक्ने प्रतिबद्धता पूरा हुने क्रममा पनि रहेका छन् । निर्वाचनका समयमा नागरिकबाट गरिएका प्रतिबद्धता केही परिमार्जन भएका छन् भने कतिपयमा काम हुँदै छ । जनताको मुख्य अपेक्षा र हाम्रो प्रतिबद्धता भनेको नै पालिकाको विकास र समृद्वि हो । हामी त्यसमा नै केन्द्रित भई अविरल काम गरिरहेका छौँ । समृद्ध गाउँपालिका, सुखी नागरिक भन्ने नारालाई सार्थक बनाउने नै हो । यसका लागि सडक, खानेपानी, कृषि, शिक्षालगायतका क्षेत्रमा काम गरिरहेका छौँ । 

आगामी योजना के के छन् ?

यहाँ रहेका खेतीयोग्य जमिनमा लिफ्टिङ सिँचाइ सुविधा पुर्‍याएर कृषिमा आत्मनिर्भर बनाउने, एक घर एक धारा कार्यक्रमलाई दिगो बनाउने, कृषि क्षेत्रमा सहभागितामूलक र प्रविधियुक्त उत्पादन, प्रशोधन भण्डारण र प्याकेजिङ तथा एकीकृत बजारीकरण, दीर्घकालिन भू उपयोग गर्ने योजना बनाएका छौँ । स्थानीय नागरिकसँग समन्वय र सहकार्य गरी गाउँपालिकाको विकासको मोडल बनाउने लक्ष्य रहेको छ ।