प्युठान समाचारदाता
प्युठान, पुस ३ गते । जिल्लामा अहिले एचआईभी सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या १३० पुगेको छ । सङ्क्रमित सबैले जिल्ला अस्पतालको एआरटी सेन्टरबाट नियमित औषधी खाने गरेका छन् । उनीहरूलाई जिल्ला अस्पताल बिजुवारमा रहेको एआरटी सेन्टरबाट परामर्शका साथै एआरटी औषधी उपलब्ध गराइने गरिएको एआरटी काउन्सिलर मेनुका केसीले बताउनुभयो ।
उहाँका अनुसार रोजगारीका लागि भारत जाने सङ्क्रमित व्यक्तिले छ महिनाका लागि पुग्ने गरी औषधी लैजाने गरेका छन् । टाढाका सङ्क्रमितले दुई महिना र नजिकका सङ्क्रमितले एक महिनाका लागि औषधी लैजाने गरेको उहाँले बताउनुभयो ।
जिल्लाभर अहिले घर घरमै पुगेर एचआइभी परीक्षण गर्ने गरिएको छ । एचआइभी तथा क्षयरोग रोकथाम कार्यक्रम अन्तर्गत घरमै पुगेर निःशुल्क रूपमा एचआईभी परीक्षण गर्ने गरिएको हो । एचआइभी सङ्क्रमणको सम्भावित जोखिममा रहेका भारतमा रोजगारीका लागि जाने व्यक्ति र तिनको परिवारलाई लक्षित गरी सेभ दी चिल्ड्रेन/ग्लोबल फन्डको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले यो अभियान चलाइरहेको छ ।
घरमा पुगेर परीक्षण गरिनुका साथै घुम्ती शिविरमार्फत समेत सेवा प्रवाह गर्ने संस्थाले जनाएको छ । त्यसका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी शिविर गर्ने गरिएको संस्थाका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसै गरी एचआइभी सङ्क्रमितको साझा संस्था प्युठान प्लसले सङ्क्रमितको हेरचाहमा सहयोग गर्दै आएको छ । एचआइभी तथा एड्स महासङ्घसँगको साझेदारीमा केयर एन्ड सपोर्ट कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम तथा वित्त अधिकृत तपेन्द्र विकले बताउनुभयो ।