• ८ पुस २०८१, सोमबार

किराँत समुदाय उल्लासका मनाउँदै चासोक तङ्नाम

blog

लिम्बू संस्कृतिमा आधारित धान नाँच । तस्बिर : राधा लुइटेल

राधा लुइँटेल
फिदिम, मङ्सिर ३० गते ।
किराँत समुदाले आइतबार चासोक तङ्नाम (उँधौली पर्व) मनाउँदै छन् । प्रत्येक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने यो पर्वमा नयाँ अन्न चढाएर न्वागी खाने चलन छ ।

उँधौली पर्वलाई लिम्बूले “चासोक तङनाम” किराँत समुदायकै याक्खाहरुले  “चोसोवा”, सुनुवारले “फोल श्यादर”, राईले “सेमुना साकेन्वा”, हायले “कागुनी न्वागी” र जिरेलले “न्वागी चास्या” आदी नामले मनाउने गर्छन् ।

उँधौली पर्वकै दिन “ज्यापु दिवस” पनि पर्दछ । नेवार समूदायहरुले यो पर्वलाई “यमरि पुन्हि” पनि भन्द छन् । यो पर्वलाई ब्राह्मणहरुले मङ्सिर शुक्ल पूर्णिमा अर्थात् गोठपूजा गर्ने पर्वका (गोठधुप) रुपमा मान्दछन् ।

मङ्सिर शुक्ल पूर्णिमादेखि जाडो बढ्ने भएकाले उच्च पहाडी र हिमाली क्षेत्रका चौंरी, गाई र भेडा खर्कमा रहेका गोठ लेकबाट बेंसीतर्फ सार्ने गरिन्छ ।

यसरी गोठ तलतिर सार्ने बेलामा बिघ्न बाधा र पशुमा क्षति नपुगोस् भनेर देवी देवताको पूजा गरेर सार्ने चलन रहेकाले यो पर्वलाई उँधौली भन्ने गरिएको शास्त्रीय मान्यता छ ।

सबै जात जाति र समुदायले विविध नामले पुकार्दै मनाइने यो पर्व पूर्वी नेपालका लिम्बूहरुले विशेष ढङ्गले मनाउछन् ।

मुन्धुमविदह हरिचन्द्र लावतीका अनुसार पृथ्वी र मानव जातिको सृष्टिपश्चात् (सर्वशक्तिमान तागेरा निङवाफु माङ ) ले यम्भामी पोरोक्मीलाई मानवजातिको आहाराका लागि अन्नबाको बीउबिजन दिए । सो बीउ रोपेर पाकेपश्चात् घरमा भित्र्याएपछि पहिले मङ्सिर शुक्ल पूर्णिमाका दिन तिनै माङलाई चढाएर मात्रै मानव जातिले नयाँ अन्न खान सुरुवात गरेकाले यो दिनलाई न्वागी खाने दिन भनेर मनाउन थालिएको हो ।

यो दिन लिम्बूहरूले युमा, थेबा, काप्पोबा, थुङधाङबा, आदि घरभित्र पुजिने देवतालाई न्वागी स्वरूप नयाँ अन्न चढाउने गर्दछन् । शुभकार्यमा बाधा अड्चन ल्याउने मिसेक, कुइकुदापको समेत चासोक तङ्नामका दिन पूजा गरिन्छ ।

लिम्बू जस्तै राई जातिले पनि आदिम पुर्खा पारुहाङ र सुम्निमाको प्रतीक शिला गाडी पूजा गर्छन् । पूजा गरिसकेपछि जङ्गलमा सिकार खेल्ने, भस्मे, झोसेनीपोतेनी, झारबुटो फाँड्ने, बस्ती बसाउने, अन्न बालीको बीउ पत्ता लगाउने, खेती गर्नेजस्ता सीपहरू राई जातिले चण्डी नाचका माध्यमबाट प्रस्तुत गर्छन ।

लिम्बूहरु चासोक तङ्नाममा एकआपसमा भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, परम्परागत नाचगान गर्ने, मौलिक भेषभूषा लगाउने र आफन्तजनसँग सजातीय मीठामीठा खानपिनका परिकारहरू बनाएर खाने गर्छन ।

यो दिन लिम्बू जातिहरूले आदिम खेलाडी पोरोक्मी यम्भामीलाई स्मरण गर्दै पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्दछन् । तरुनी तन्नेरीहरूको फुङवा चाङमा (जीवनरूपी फूल जगाउने) मुन्धुमी कर्म सम्पादन गर्दछन् । किशोर किशोरीहरू परिपक्व उमेरमा प्रवेश गरेको सङ्केतको रूपमा चाङवान् लेक्मा सुअवसरको रूपमा पनि चासोक तङ्नामलाई लिम्बूहरूले लिने गरेका छन् ।

राई जातिमा सासूबुहारी, बाबुछोरादेखि नातिनातिनासम्म एकै ठाउँमा भेला भई सेमुना साकेन्वा नाच्ने गर्दछन् । सुनुवार जातिले पनि यो पर्बलाई फोल श्यादर भनेर मनाउँछन् । यो पर्वमा उनीहरु न्वागी पूजा गरेर ढोल र यो दिन पाँचथरको सुम्जिरी सुम्हात्लुङ आम्वेजक्मा मन्दिर क्षेत्रमा छेलो हान्ने प्रतियोगितासँगै जातिय संस्कृति झल्कने प्रतियोगिता आयोजना गर्ने, नाचगान गर्ने, शुभकामना आदानप्रदान गर्ने पनि गरिन्छ ।

पहिला पहिला चासोक तङ्नाम अर्थात् उँधौली पूजा भने बढी पारिवारिक परिवेशमा मनाउने चलन थियो । परिवार तहमा गरिने चासोक पूजा अब आएर सिङ्गो समुदाय एकै ठाउँमा भेला भएर माङसाम्माङ (देवीदेवता) को पूजा गर्ने, प्रकृतिको पूजा गर्ने, मनोरञ्जन, खेलकुद गर्ने, मेला लगाउनेजस्ता कार्यक्रमहरू आयोजना गरेर मनाउन थालिएको हो ।

भाषा, संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उँधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आ–आफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आ–आफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् । लिम्बूहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।

चासोक तङनाममा नयाँ पाकेको अन्नबाली आफूले मानेको देवीदेवता, पितृ, प्रकृति आदिलाई चढाइने भएकोले यो एउटा निश्चित जाति वा समुदायमा मात्र केन्द्रित हुनुपर्ने कुनै कारण छैन । त्यसैले पछिल्लो समय यसलाई किराँतको मात्र हो भने जस्तो नगरेर सम्पूर्ण नेपालीको चाड भनेर बुझ्नुपर्ने संस्कृतिविद्हरुको सुझाव छ ।