• ८ वैशाख २०८२, सोमबार

पूर्णेडाँडामा झ्याम्टे मेला

blog

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), मङ्सिर ३० गते ।
इलामको सूर्योदय नगरपालिका ११ को पूर्णेडाँडामा लाग्दै आएको ऐतिहासिक झ्याम्टे मेला सुरु भएको छ । प्रत्येक वर्ष मङ्सिरे पूर्णिमा र वैशाखे पूर्णिमाका दिन लाग्दै आएको मेला आइतबारबाट सुरु भएको हो ।

राई संस्कृतिसँग जोडिएको झयाम्टे मेला पूर्णेडाँडामा खलङ्गा स्थापना भएपछि बडाहाकिम आएपछि उहाँको मनोरञ्जनका लागि मेला लाग्नेछ । बडाहाकिमलाई विभिन्न जातको संस्कृति देखाउने क्रममा राई जातिको सांस्कृतिक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टासहित सहभागी हुने राईहरूको नृत्य धेरैले मन पराएपछि झ्याम्टे मेला लाग्न सुरु भएको स्थानीय झप अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनोरञ्जनका कुनै साधन नभएको बेला नेपाल र छिमेकी भारतका मानिस भेला भएर मेलाको बहानामा रमाइलो गर्ने परम्परा बसेको थियो । अधिकारीले भन्नुभयो, ‘‘राई जातिको साकेला नाच, लिम्बू जातिको धाननाच नाचेर मेलाबाटै केटी तानेर लाने परम्परा थियो, तानेर लगेपछि आधिकारिक विवाह भएको मानिन्थ्यो ।’’


झ्याम्टे मेला व्यवस्थापन समितिले अहिले मेलालई अलि परिस्कृत गरेको छ । मेला आयोजक समितिका अध्यक्ष असेर राईका अनुसार अहिले स्थानीय खानाका परिकारका स्टल राखिएको छ । मेलामा स्थानीय कलाकारले साङ्गीतिक कार्यक्रम र साकेला नृत्य आयोजना गरिएको छ ।

पूर्णेडाँडामा वि.सं.१८७२ मा सुगौलीको सन्धिपछिका तीन वर्षसम्म खलङ्गा रहेको थियो । उक्त समयमा सरकारका प्रशासनिक अड्डा स्थापना भएको पूर्णेडाँडामा विगत चार वर्षदेखि मेला लाग्न थालेको हो । सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिले नेपालको सिमाना मेची तोकेपछि त्यस बेलाका बडाहाकिम काजी जयन्त खत्रीले सदरमुकाम करफोकको पूर्णेडाँडामा सारेको पाइन्छ । त्यसबेला तमोरनदी पूर्व लिम्बूवान करफोकबाट हेरिन्थ्याे । तमोर पश्चिमको शासन धनकुटाबाट हेर्ने गरेको थियो ।

करफोकमा करफोक खलङ्गा सामुदायिक होमस्टे सञ्चालनमा आएका छन् । होमस्टेका कारण करफोक, पूर्णेडाँडामा पर्यटकको चहलपहल बढेको छ । करफोकमा दुईदिने होमस्टे प्रवर्धन  महोत्सव लगाइएको छ । महोत्सवमा स्थानीय खानाका परिकारका स्टल राखिएको थियो । अर्गानिक खानेकुरा प्रवर्द्धन गर्न पर्यटन कार्यालय काँकडभिट्टा र सूर्योदय नगरपालिकाले सहयोग गरेको होमस्टे व्यवसायी चन्द्र सापकोटाले जानकारी दिनुभयो ।