• ८ असार २०८२, आइतबार

खर्कमै पुगेर चौँरी वितरण

blog

रलिङ समाचारदाता

रलिङ (हुम्ला), असार ८ गते । हुम्लाको सिमकोट गाउँपालिकाका सात जना किसानलाई चौँरीगाई वितरण गरिएको छ । सिमकोट गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक सहयोगमा सो किसानलाई १४ वटा चौँरीगाई वितरण गरिएको हो । शनिबार बिहान सिमकोट गाउँपालिका–८ का सात जना किसानलाई प्रतिकृषक दुई/दुई वटाका दरले चौँरीगाई वितरण गरेको पशु शाखामा कार्यरत विष्णु बुमीले बताउनुभयो । किसानलाई वितरण गरिएका चौँरीगाई उत्तरी नाम्खा गाउँपालिका–३ को लुयटा खर्कमा पशुपालक कृषक रहेकै ठाउँमा पुगेर वितरण गरिएको हो ।

चौँरी पाउने कृषकमा सिमकोट–८ स्याडागाउँका मानबहादुर बुढा, वीरबहादुर बुढा, भक्तवीर दमाईं, भैबहादुर बुढा, रत्न बुढा, देवबहादुर बोहोरा र जनकबहादुर शाही रहेका छन् । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा किसानलाई चौँरीगाई वितरण गर्नुअघि चौँरीगाई प्राप्त गर्ने किसानलाई दुई दिने तालिमसमेत दिएको थियो । उक्त तालिममा किसानलाई चौँरीगाई पाल्ने तरिका, औषधी उपचार गर्ने विधि, घाँसको व्यवस्थापन, पोषण युक्त खाने कुरा खुवाउने जस्ता विषयमा तालिम दिएको वुमीको भनाइ छ । याक प्रवर्धनका लागि याक वितरण गरिएको र हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–८ मा याकपालनका लागि राम्रो वातावरण भएको र सो वडालाई पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि पनि उक्त याक वितरण गरिएको सिमकोट गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत वर्षबहादुर फडेराले बताउनुभयो । किसान चौँरी दिनुअघि तालिम दिएर गाउँपालिकाले उहाँहरूलाई अनुदानस्वरूप वितरण गरिएको हो ।