प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असार ८ गते । रौतहटस्थित १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीय तहमध्ये आठ वटाले असार ७ गते अर्थात् नेपाल सरकारद्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याएको छ ।
असार ७ गते शनिबारसम्म रौतहटको आठ वटा पालिकाले बजेट ल्याएको छ भने दुई गाउँपालिकासहित आठ वटा पालिकाले बजेट ल्याउन सकेको छैन ।
हालसम्म बजेट ल्याउने पालिकाहरुमा राजपुर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका, माधव नारायण नगरपालिका, गरुडा नगरपालिका, बौधीमाइ नगरपालिका, गढिमाइ नगरपालिका र ईशनाथ नगरपालिका रहेको छ ।
त्यस्तै, गौर नगरपालिका, वृन्दावन नगरपालिका, गुजरा नगरपालिका, चन्द्रपुर् नगरपालिका, मौलापुर नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, परोहा नगरपालिका र दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन ।
शनिबार रौतहटको गढिमाइ नगरपालिकाले ५४ करोड ९१ लाख ७२ हजार एक सय आठ रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु हुँदै नगर प्रमुख श्याम प्रसाद यादवले कुल बजेटमध्ये पुजिगत तर्फ १९ करोड १५ लाख ४९ हजार र चालू तर्फ ३५ करोड ७६ लाख २३ हजार एक सय आठ रुपियाँ विनियोजन गरिएको बताउनुभयो ।
‘मेरो नगर म बनाउछु’ नारा आत्मसात गर्दै समृद्ध र सुखी नगर बनाउन विभिन्न योजना ल्याएको नगर प्रमुख यादवले बताउनुभयो । नगर प्रमुख यादवले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा नगरमा मुख्य समस्याको रुपमा रहेको स्वच्छ खानेपानी व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिने, वातावरण मैत्री नगर निर्माणका लागि कार्य अघि बढाइने, नगरको गौरवको योजनाको रुपमा चक्रपथ निर्माण, गढिमाइ मन्दिरलाई व्यवस्थित गर्ने, पशु बजार व्यवस्थापन गर्ने लगायतका विषय वस्तु समेटिएको छ ।
पारदर्शिता तथा सुशासनको प्रत्याभूतिका लागि समय समयमा सार्वजनिक सुनुवाइ, हरेक योजनाको सार्वजनिक परिक्षण साथै सामाजिक परीक्षणको कार्यलाई प्रथम प्राथमिकतामा राखिने प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत यादवले नगरपालिकालाई प्रविधिमैत्री बनाउदै हरेक वडालाई नगरसँग नेटवर्किङ गर्ने जानकारी दिनुभयो ।
त्यस्तै, शनिबार नै इशनाथ नगरपालिकाको ११ औँ नगरसभाको खुला सत्र सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ लागि नगर उपप्रमुख प्रवेज आलमले ४९ करोड्क ६५ लाख ५२ हजार चार सय ९७ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राथमिकताका साथ् बजेट विनियोजन गरिएको नगर प्रमुख कौशल्या देवीले बताउनुभयो ।