केशवराज भट्ट
बैतडी (बाशुलिङ्ग), असार ८ गते । बैतडी जिल्लामा प्रमुख खाद्यबालीका रूपमा रहेको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखापरेको छ । किराको प्रकोप बढेसँगै यहाँका किसान चिन्तित बनेका छन् ।
कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकाका विभिन्न वडामा मकैबालीमा किराको व्यापक प्रकोप देखिएको छ । ‘‘फौजी किराले मकैको पात, डाँठ, घोगा र टुप्पासम्म खाएर बाली पूर्ण रूपमा नष्ट पार्ने गरेको देखिएको छ,’’ प्रमुख जोशीले बताउनुभयो ।
फौजी किरा के हो ?
फौजी किरा मूलतः अमेरिका महादेशको किरा हो, जुन सन् २०१६ तिर अफ्रिकाबाट एसियाली मुलुकहरूमा फैलिएको थियो । नेपालमा पहिलोपटक सन् २०१९ मा यो किराको प्रकोप देखापरेको हो । यो किराले विशेषगरी मकैमा आक्रमण गर्ने गर्छ तर धान, गहुँ, जौ, टमाटर, बन्दा, गाभालगायतका ८० भन्दा बढी बालीमा समेत यसले क्षति पुर्याउने गरेको पाइन्छ ।
यो किराको विशेषता भनेकै दिनभर माटो वा पातभित्र लुकेर बस्ने र राति सक्रिय भई बालीमा ठुलो क्षति पुर्याउने हो । लामो समयको खडेरीपछि वातावरण अनुकूल हुँदा यस किराको सक्रियता झनै बढ्ने कृषि विज्ञहरू बताउछन् ।
कृषक त्रसित, उत्पादनमा गिरावटको आशङ्का
दोगडाकेदार गाउँपालिका–७ का किसान मीना भट्ट भन्नुहुन्छ, ‘‘फौजी किराले मकैबाली पूरै सखाप पारिसकेको छ । समयमै नियन्त्रण नभए उत्पादनमा भारी गिरावट आउन सक्छ ।’’
दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टका अनुसार किराले रातको समयमा मकैको बोटमा आक्रमण गर्ने र छोटो समयमा बाली नष्ट गर्ने गर्छ । ‘‘हामी किराको प्रकोप देखिएका स्थानका किसानहरूलाई विषादी छर्कन सुझाव दिइरहेका छौँ,’’ उहाँले बताउनुभयो ।
विषादी अभावमा थप चुनौती
कृषि ज्ञान केन्द्र बैतडीले किराको नियन्त्रणका लागि इमामेक्टिन बेन्जोएट नामक विषादी वितरण गर्दै आएको भए पनि हाल उक्त विषादीको अभाव रहेको जनाएको छ । किराको प्रभाव मकैको पकेट क्षेत्रमै देखिएको हुँदा विषादीको पहुँच नहुँदा नियन्त्रण कार्यमा थप चुनौती देखिएको हो ।
बैतडीमा हाल १३ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रले किराको प्रकोपबाट बच्नका लागि सतर्कता अपनाउन र जैविक तथा रासायनिक उपायहरूको प्रयोग गर्न किसानहरूलाई अनुरोध गरेको छ ।
पाँच वर्षदेखि निरन्तर प्रकोप
बैतडीमा पाँच वर्षयता हरेक वर्ष अमेरिकन फौजी किराको प्रकोप देखिँदै आएको छ । तर समयमै नियन्त्रण नहुँदा यसले उत्पादन क्षतिमा ठूलो प्रभाव पार्ने गरेको छ । किसानहरूले किराको दीर्घकालीन समाधानका लागि सरकारी तहबाट प्रभावकारी रणनीति आवश्यक रहेको बताएका छन् ।