• ८ असार २०८२, आइतबार

वर्षाले मकै बालीमा क्षति

blog

लमही नगरपालिका–७ फचकपुरमा भिजेको मकै सुकाउँदै किसान । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, असार ८ गते । मकै तयार भएर घर भित्राउने बेला पानीले भिजाएपछि किसान समस्यामा परेका छन् । हिउँद भर दुःख मिहिनेत गरि फलाएको मकै भाँचेर घर भित्राउने समयमा पानीले भिजाएपछि बिक्री गर्ने समयमा किसानलाई मकै सुकाउनुपर्ने भएको छ ।

असार १ गते भाँचेको मकै २ गते मेसिनले छोडाएर बिक्रीका लागि सुकाएको समयमा असार ४ गते परेको पानीले भिजाएपछि समस्यामा परेको लमही नगरपालिका–७ फचकपुर निवासी किसान हरिकृष्ण चौधरी बताउनुहुन्छ । पानीले नभिजाएको भए अहिलेसम्म बिक्री भइसक्ने भन्दै पानीले भिजाएकै कारण बिक्री हुन नसकेको बताउनुभयो । बिक्री नहुँदा पानीले भिजेको मकै बिग्रिन्छ कि भनेर बाटोमा सुकाउनुपरेको बताउनुहुन्छ ।  

बिक्रीका लागि व्यापारीसँग कुरा भइसकेको समयमा करिब तीन बिघा जमिनमा रोपेको करिब ८४ क्विन्टल मकै पानीले भिजेको बताउनुहुन्छ ।  भिजेको मकै सडक, घरको आँगन र छतमा सुकाएको भन्दै किसान चौधरीले भन्नुभयो, "भिजेको मकैलाई सुकाउनका लागि राम्रो घाम चाहिन्छ तर पानी परिरहेकाले सुक्न पाएको छैन । बिग्रिन्छ कि भन्ने डर छ ।" मकै सुक्न नपाउँदा बिग्रिने र  उचित मूल्य नपाउने हो कि भन्ने चिन्ता थपिएको बताउनुभयो । उहाँले गतवर्ष ८० क्विन्टल बसन्ते मकै बिक्री गर्नुभएको थियो । 

दैनिक जसो छिटफुट रुपमा पानी परिरहने र घाम नलाग्ने गरेका कारण हरिकृष्णलाई जस्तै फचकपुरकै शङ्कर चौधरीलाई पनि मकै बिग्रिन्छ कि भन्ने चिन्ताले सताउने गरेको छ । घरको आँगनदेखि सडकसम्मै मकै सुकाउनुभएका चौधरीले घाम लागेन भने मकै बिग्रिएर खेर जान्छ कि भन्ने लागेको बताउनुभयो । करिव १३ देखि १४ क्विन्टल मकै पानी भिजाउँदा हिउँदभर गरेको मेहनत खेर जान्छ कि भन्ने चिन्ता थपिएको बताउनुहुन्छ । 

बिक्रीका गर्नका लागि मकै भाचेर गेडा छोडाएर घरको आगनदेखि सडकसम्म सुकाएको समयमा एक्कासी पानी पर्दा सवै मकै उठाउन नसकिएकाले धेरै भिज्न गएको भन्दै उहाँले भन्नुभयो, "गाउँभरिका सबैले मकै सुकाएका थियौं । त्यही समयमा पानी पर्दा एकैचोटी उठाउन सकिएन ।" 

हरिकृष्ण र शङ्कर जस्तै फचकपुरका करिब ४० घरमध्ये  करिब १६-१७ घरका किसानको बिक्रीका लागि तयार भएको मकै पानीले भिजेको अर्का किसान प्रेमलाल चौधरी बताउनुहुन्छ । वर्षाको समयमा खेतबारीमा राप्ती नदीको पानी पस्ने भएका कारण मकै हुने नहुने निश्चित नहुने र बर्खेभन्दा बसन्ते मकै राम्रो उत्पादन हुने भएका कारण गाउँका अधिकांश किसानले बसन्ते मकै रोप्ने गरेका छन् । उहाँका अनुसार बिक्रीका लागि तयार भइसकेको मकै भिजेपछि अहिले किसानले हिउँदे मकै घरको छत, सडक र आँगनमा सुकाइरहेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका अनुसार गतवर्ष परियोजनाअन्तर्गत देउखुरीको एक सय ७० हेक्टर क्षेत्रफलमा  करिब नौ सय मेट्रिक टन मकै  उत्पादन भएको थियो । देउखुरीमा किसानले बसन्ते मकै प्रति क्विन्टल तीन हजार पाँच सय रुपियाँका दरले बिक्री गर्ने गरेका छन् ।