• ७ असार २०८२, शनिबार

‘साम्बा चोक’ मा पर्यटकको धुइरो

blog

साम्बा चोकमा घुम्न आएका पर्यटकहरु । तस्बिर : गोरखापत्र

नवीनराज कुइँकेल

लमजुङ, असार ७ गते । चर्चित फुटबलर सावित्रा भण्डारी (साम्बा) को सम्मानमा स्थापना गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बनेको छ ।

मस्र्याङदी गाउँपालिका–९ खुदीपुल नजिक बनाइएको ‘साम्बा’ चोकमा घुम्न आउने पर्यटकहरु बढेका छन् । गत जेठ ५ गते साम्बाको स्क्याचुसहितको स्तम्भ राखिएपछि हेर्न र फोटो खिच्न आउने पर्यटकहरुको संख्या बढेको स्थानीय होटल ब्यवसायी सीता श्रेष्ठले बताउनुभयो ।

जिल्ला भित्र र बाहिरबाट खेलकुदप्रेमी पर्यटकहरु घुम्न आउने गरेको स्थानीयले बताएका छन् । अन्नपूर्ण पदमार्गमा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पनि यहाँ घुमेर जाने गरेको स्थानीय ब्यवसायी वीरेन्द्र भण्डारीले बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले साम्बा चोकमा तस्विर खिच्ने, सेल्फि खिच्ने, भिडियो टिकटक बनाउन आउने पर्यटकहरु बढेको बताउनुभयो । उहाँले यस चोकका कारण स्थानीय क्षेत्रको ब्यापार ब्यवसायसमेत बढेको बताउनुभयो । यहाँ दैनिक दुईसय बढी पर्यटकहरु आउने गरेको र विदाको समयमा दोब्बर आउने गरेको उहाँको भनाई छ । 

साम्बा चोक घुम्न आउनुभएका पर्यटक शंकर घिमिरेले यहाँ आइपुग्दा निकै रमाइलो र खुसी लागेको बताउनुभयो । मस्र्याङ्दी गाउँपालिकाका–४ ताघ्रिङका प्रदीप गुरुङले पालिकाकै चेली सावित्राको नामबाट नामरण भएको चोकमा आउँदा गर्व लागेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले साम्बा पालिकाको मात्र नभएर राष्ट्रको गहना भएकाले उहाँको सम्मानमा साम्बा चोक स्थापना गरेको बताउनुभयो । अन्नपूर्ण पदमार्ग अन्र्तगत मनाङ जाने सडकमा अबस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उहाँको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुगेको वडा नं. ९ का वडाअध्यक्ष हरिश्चन्द्र थापाले बताउनुभयो ।

हाल फ्रान्सेली लिग प्रिमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिमा खेल्दै आउनुभएकी सावित्रा वि.सं. २०५४ जेठ १० गते मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएको हो । भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित हुनुहुन्छ ।

सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले नेपाली महिला टोलीका लागि हालसम्म ५० भन्दा बढी गोल गरिसक्नुभएको छ । सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुनुहुन्छ । साबित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुनुहुन्छ ।