गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ८ गते । बाढीपहिरोका कारण देशभरका राजमार्ग प्रभावित हुँदा सडक यात्रा कष्टकर बनेको छ । २४ वटा राजमार्ग तथा अन्य सडक अवरुद्ध छन् । सडक विभागको शनिबार साँझसम्मको रेकर्ड अनुसार ४७ स्थानमा दुईतर्फी सवारी सञ्चालनमा छन् भने ५१ स्थानमा एकतर्फी सवारी चलेका छन् । दुई वटा राजमार्ग अवरुद्ध छन् ।
पूर्व–पश्चिम राजमार्गको नवलपुर विनयीखोला र तानसेन–रिडी–कोरला सडकको गुल्मी गरगरेमा अवरुद्ध छ । राजमार्ग छिनछिनमा बन्द हुने र खुल्नेक्रम चलिरहेको विभागले जनाएको छ । कतिपय राजमार्ग रातमा बन्द गरिएको छ । नौबिसे–मुग्लिङखण्डको परेवा भिरमा पहिरो खसिरहने भएकाले सावधानी अनपाउन आग्रह गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द गरिएको छ । साँझ ७ देखि बिहान ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने सडक विभागले जनाएको छ । दुम्कीबासखण्डमा दुर्घटना जोखिम बढेकाले सडक बन्द गरिएको विभागले जनाएको छ । ठुला तथा मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग
प्रयोग गर्न र साना सवारीसाधनलाई दिउँसो मात्र यात्रा गर्न भनिएको विभागका उपनिर्देशक एवं प्रवक्ता प्रतापकुमार झाले जानकारी दिनुभयो ।
बिपी राजमार्गमा राति यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ । अरनिको राजमार्ग, कालीगण्डकी कोरिडोर, कान्ति राजपथ बन्द हुने र खुला हुनेक्रम चलिरहेको प्रवक्ता झाले बताउनुभयो । मुख्यतः पहिरोका कारण सडक अवरुद्ध भएको उहाँको भनाइ छ । बर्सातले मात्र नभई सुक्खा पहिरोले पनि राजमार्ग अवरुद्ध हुन पुगेका छन् ।
त्यस्तै पृथ्वी राजमार्गको नौबिसे–मलेखुखण्डमा आइतबार राति १०:३० देखि बिहान ३ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । निर्माणाधीन गलौदीखोला पुलमा ठुलो क्रेन प्रयोग गरी आरसिसी बिम राख्न लागिएको हुँदा ९ गतेसम्म सो समयमा सवारी रोक लगाइएको हो । उक्त समयमा अत्यावश्यक सवारीबाहेकका यातायात सञ्चालनमा रोकिएको सडक विभागले जनाएको छ ।