सिराज खान
नेपालगन्ज, असार ८ गते । बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिका कुष्ठरोगको उच्च जोखिममा रहेको छ । सो पालिकाको एउटै वडामा नौ जना कुष्ठरोगीसहित २६६ जना छालाका रोगीहरू भेटिएपछि सो पालिका कुष्ठरोगको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले नरैनापुर गाउँपालिका– १ मा हालै आयोजना गरीएको छाला तथा कुष्ठरोग शिविरमा नौ जनामा कुष्ठरोगसहित २६६ जनामा छाला रोगको समस्या पाइएकोले सो पालिका कुष्ठ रोगको उच्च जोखिममा रहेको बताउनुभयो ।
उहाँले नरैनापुरको एउटै वडामा नौ जना कुष्ठरोगी भेटिनु चिन्ताको बिषय भएको जनाउँदै अन्य वडाहरुमा पनि त्यस्ता बिरामीहरु रहेको सम्भावना देखिएकोले सबै वडामा परीक्षण आवश्यक देखिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल व्यक्ति रविन्द्र कुमार शाहले पनि एउटा वडाको परिणामले अन्य वडाहरुमा पनि कुष्ठरोगका बिरामीहरु भेटिने सम्भावना देखिएकोले गाउँपालिकानै कुष्ठरोगको उच्च जोखिममा रहेको सङ्केत गरेको बताउनुभयो ।
उहाँले कुष्ठरोग भएको प्रमाणित भएकाहरुको परिवारका सदस्यहरू र छरछिमेकमा समेत परीक्षण गरिने जनाउँदै परीक्षण कार्य धेरै ठाउँमा गर्नु पर्ने देखिएको बताउनुभयो ।
उता, स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले नरैनापुर विभिन्न किसिमले पछाडि परेको पालिका भएको हुँदा सो पालिकामा कुष्ठरोगीहरु धेरै भेटिएपछि सरकारको पनि चिन्ता बढेको जनाउँदै परीक्षणको दायरा फराकिलो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले सो पालिकाका सबै वडाहरुमा छाला तथा कुष्ठरोगका बिरामीहरुको खोजी गर्नु आवश्यक रहेको बताउनुभयो ।
नरैनापुर– ५ को स्वास्थ्य चौकीका अहेब दिनेश कुमार मौर्यले स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये अधिकांश छाला रोगका बिरामी हुने गरेकोले अवस्था सामान्य नरहेको बताउनुभयो ।