• ८ असार २०८२, आइतबार

छात्रालाई प्रोत्साहन गर्न साइकल वितरण

blog

विद्यालय आवत जावत गर्न साइकल पाएपछि खुसी भएका छात्राहरू । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी

बबई (बर्दिया) असार ८ गते । विद्यालयमा अध्ययनरत बालिकालाई नियमित विद्यालय जानका लागि प्रोत्साहन गर्न बर्दिया जिल्लाको राजापुर नगरपालिकामा आर्थिक अवस्था कमजोर भएका छात्रालाई साइकल वितरण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण बालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको हो । राजापुर नगरपालिका ९ गोडियानाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत रहेका पाँच जना छात्रा र वडा नं. ८ मा रहेको भेरी माध्यमिक विद्यालयमा अध्ययनरत ९ जना छात्र गरी १४ जना छात्राका लागी साइकल वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत रहेका छात्राको आर्थिक अवस्था न्यून भएका कारण उनीहरूको अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले साइकल वितरण गरिएको हो । 

राजापुर नगरपालिका र मधुवन नगरपालिकाका विद्यालयमा अध्ययनरत ३१ जना  छात्रालाई अध्ययनमा रुचि जगाउने उद्देश्यले साइकल वितरण गरिए पछि विद्यालय आउन समस्या भएका छात्राहरू समेत खुसी भएका छन् । आफ्नो घर देखि विद्यालय आउन समस्या भएका बेला आफूलाई साइकल सहयोग गरेर विद्यालय आउने वातावरण तयार गरी दिएकोले बाँके युनेश्क्को क्लबलाई धन्यवाद दिन चाहेको भेरी माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा रित्तीका थारूले बताउनुभयो । 

परिवारको आर्थिक अवस्था कमजोर हुँदा छात्राहरूको पढाई बिचमानै छुटने देखिए पछि उनीहरूको अध्ययनलाई निरन्तरता दिन साइकल वितरण गरिएको भेरी माध्यमिक विद्यालय ललितापुरका प्रधानाध्यापक शिवकुमार कोइरालाले बताउनुभयो ।

छात्राहरूलाई साइकल वितरण गर्न विभिन्न मापदण्ड बनाएर छात्राहरूको घर देखि विद्यालय सम्मको दुरी, स्वास्थ्य अवस्था र सुरक्षालाई मध्यनजर गरेर बाँके युनेस्काे क्लब को सहयोगमा साइकल वितरण गरिएको राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले बताउनुभयो । 

राजापुरमा रहेका दुई वटा विद्यालयका १४ र मधुवन नगरपालिकामा रहेका १७ जना छात्रालाई विद्यालयमा आवत जावत गर्न सहज होस भन्ने उद्देश्यले प्लान इन्टरनेसनलको सहयोगमा साइकल वितरण गरिएको बाँके युनेस्काे क्लब सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बि.कले बताउनुभयो । 

बालविवाह न्यूनीकरणमा काम गर्दे आइरहेको बाँके युनेस्काे क्लबले सशक्त बालिका परियोजना अन्तर्गत छात्राहरूको अध्ययनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ।