• ८ असार २०८२, आइतबार

हाइब्रिडले रैथाने मुलाको बिउ विस्थापित

blog

जैमिनी–१, कुश्मीसेरास्थित स्थानीय जातको मुलाको बिउ उत्पादन हुने ठुलोखेत । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असार ८ गते  । बर्खामा धान खेतीले भरिभराउ देखिने ठुलोखेत मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो । कतै मुलाका बिरुवा त कतै सेतो केराउ लगाउन किसानलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरामा रहेको ठुलोखेत किसानका लागि बिरानो जस्तै बनेको छ ।  मुलाको बिउ बेचेरै किसानको गुजारा चलेको थियो । पछिल्लो समय हाइब्रिडले बजार ओगटेपछि ठुलोखेतमा स्थानीय जातको मुलाको बिउ उत्पादन हुन छाडेको छ । बिउ किन्न किसानको घरदैलोमै पुग्ने व्यापारी हाइब्रिडमा आकर्षित हुन थालेपछि उत्पादन गर्न छाडेको किसान बताउँछन् । 

स्थानीय जातभन्दा हाइब्रिड सस्तो भएपछि खेती छाडेको किसान मोतीप्रसाद पौडेलले बताउनुभयो । सात वर्षअघिसम्म लाखौँको मुलाको बिउ उत्पादन हुने ठुलोखेत आजभोलि किसानका लागि बिरानो बनेको पौडेल सुनाउनुहुन्छ । 

२०५२ सालदेखि कृषि मन्त्रालयको कोशी पहाडी तरकारी आयोजना र बिउबिजन प्रवर्धन कार्यक्रमले ठुलोखेतलाई मुलाको ब्याड बनाएको थियो । “धान बाली थन्क्याएपछि लगाइने मुलाले चार महिनामै उत्पादन दिन्थ्यो, मैलै एकै वर्षमा छ हजार केजीसम्म बिउ बेचेको थिएँ,” पौडेलले स्मरण गर्नुभयो । मुलाको बिउ बेचेर स्थानीय डिल्लीप्रसाद आचार्य र माया नेपालीलगायतका किसानले वार्षिक पाँच लाखभन्दा बढी रकम आम्दानी गर्न सफल भएको पौडेलले बताउनुभयो । ठुलाखेतमा उत्पादन हुने बिउ काठमाडौँ र भैरहवालगायतका बिउ भण्डारले खरिद गरेर लैजाने गर्दथे । 

बिउ बिक्री हुन छाडेपछि २०७६ सालपछि ठुलाखेतमा बिउ उत्पादनका लागि खेती हुन छाडेको हो । किसानले दुःख गरेर उत्पादन गर्दा प्रतिकेजी १५० रुपियाँ पर्ने बिउ बजारमा एक सयमै पाइन थालेको किसानले उत्पादन छाडेको पौडेल बताउनुहुन्छ । 

हाइब्रिड बिउ एक पटकका लागि मात्रै हो तर यहाँ उत्पादन भएको बिउ पटक पटक प्रयोग गर्न सकिने भए पनि व्यापारी र किसानले नबुझेको उहाँ बताउनुहुन्छ ।  कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र सिलवाल ल्याब परीक्षण गरेर बिउ बेच्ने चलन बसेपछि व्यापारीले चासो दिन छाडेको बताउनुहुन्छ । जिल्ला तहमा ल्याब राख्ने अवस्था नभएपछि किसान–व्यापारीको सम्बन्ध टुटेको पौडेलको भनाइ छ ।