• ११ पुस २०८१, बिहिबार

पत्रकार महासंघ गुल्मी अध्यक्षमा खत्री निर्वाचित

blog

रमेश विश्वकर्मा

गुल्मी, मंसिर २९ गते । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको अध्यक्षमा प्रेस चौतारी नेपालका अनिल खत्री निर्वाचित हुनुभएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट यहाँ अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका खत्री १३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी प्रेस सेन्टर नेपालका तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका तिलाचन पाण्डेले नौ मत प्राप्त गर्नुभयो । यस जिल्लामा अध्यक्ष, सहसचिव (खुल्ला) र सदस्य (खुल्ला) पदका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको निर्वाचन संयोजक अधिवक्ता हीरा कुँवर अर्यालले जानकारी दिनुभयो । 

संयुक्त प्यानलबाट नेपाल प्रेस युनियनका सुमन महतारा उपाध्यक्ष, सन्तोष महतारा सचिव, सागर भण्डारी कोषाध्यक्ष र मनु सुनार सहसचिव (समावेशी) पदमा निर्विरोध निर्वाचित हुनुभयो । सहसचिव (खुल्ला) मा प्रेस चौतारी नेपालका मनोज कार्कीले १४ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रेस सेन्टर नेपालका डिवी खड्काले आठ मत प्राप्त गर्नुभयो ।

सदस्य (खुल्ला) मा पाँच जनाबिच प्रतिस्पर्धा भएको हो । संयुक्त प्यानलका तर्फबाट नेपाल प्रेस युनियनका अनिल खत्रीले २०, प्रेस चौतारी नेपालका सूर्य सुनारले १८ र ईश्वरीप्रसाद बस्यालले १७ मत प्राप्त गर्दै सदस्य (खुल्ला) मा निर्वाचित हुनुभयो । 

प्रेस सेन्टर नेपालका महेश बोहोराले १० मत प्राप्त गर्दै सदस्य (खुल्ला) मा निर्वाचित हुनुभयो । यस पदका लागि प्रतिस्पर्धामा रहनुभएका प्रेस सेन्टर नेपालकै हुमाकान्त पोखरेलले ९ मत प्राप्त गर्नुभयो । त्यस्तै, केन्द्रीय परिषद् सदस्य (समावेशी) मा नेपाल प्रेस युनियनका रमेश विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभयो । केन्द्रीय परिषद् सदस्य (खुल्ला) मा नेपाल प्रेस युनियनका जनार्दन घिमिरेले १४ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रेस सेन्टर नेपालका प्रेम सुनारले ८ मत प्राप्त गर्नुभयो । 

प्रदेश परिषद् सदस्यमा प्रेस चौतारी नेपालका टोपलाल अर्याल निर्विरोध निर्वाचित हुनुभयो । नेपाल पत्रकार महासंघ गुल्मी शाखामा कुल मतदाता सङ्ख्या २५ रहेकोमा २२ मत खसेको निर्वाचन संयोजक अधिवक्ता अर्यालले जानकारी दिनुभयो ।