काठमाडौं, मङ्सिर २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक केहीबेर अघिबाट सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा दुई लागि बोलाइएको बैठक भोलि (शनिबार)सम्म चल्नेछ ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समीक्षा हुँदैछ ।
यही मङ्सिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन विस्तार अभियान’ को विस्तृत समीक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेण्डा रहेको छ ।
सङ्गठन विस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढङ्गले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाइ रहेको बताइन्छ ।
यसका साथै, पार्टीको आगामी सङ्गठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक शनिबार सम्पन्न हुनेछ ।
स्थानीय उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदवारी दिएको जसपा नेपालले मधेश प्रदेशमा दुई वटा वडा अध्यक्षमा विजयी भएको छ ।