लेखनाथ समाचारदाता
लेखनाथ, मङ्सिर २८ गते । जलवायु परिवर्तनका कारण देशभरि असर परेको अनुभव गरिँदै आएकोमा अन्नपूर्ण क्षेत्रमा भने अनेक चुनौती देखिएको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो समय जलवायु परिवर्तनका असर देखिएको जनाउँदै उनीहरूले मानवीय व्यवहारमा परिर्वतन, अनुकूलनसँगै जलवायु परिवर्तन गराउने क्रियाकलाप कम गर्नेतर्फ सोच्न आग्रह गरे ।
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय भएको नवौँ पर्वतीय महोत्सवमा सरोकारवालाले जलवायु परिवर्तनका कारण, समस्यासहित समाधानका उपायबारे छलफल गरे । ‘अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असर’ शीर्षकको छलफलको संयोजन जनप्रिय बहुमुखी क्याम्पसको बिएमटिएम कार्यक्रमले गरेको थियो ।
कार्यक्रममा वातावरण विज्ञ प्राडा विकास केसीले जलवायु परिवर्तनका असर कम गर्न पूर्वसावधानका लागि प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ठाउँ ठाउँमा अनियमित वर्षा र त्यो वर्षाका कारण अकल्पनीय क्षति हुन थालेको औँल्याउनुभयो । “पहिल्लो क्रममा अनियन्त्रित वर्षा हुन थालेको छ, नसोचेको क्षति पनि भएको छ,” उहाँ भन्नुहुन्छ, “यसका कारण जलवायु परिर्वतन नै हो वा होइन भनी गम्भीर अनुसन्धान जरुरी छ ।”
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा. रविन कडरिया जलवायु परिर्वतन भइसकेपछि आउने सङ्कट टार्न नेपालीको सामथ्र्यले नधान्ने भएकाले व्यवहारमा परिवर्तन र पूर्वसावधानीमा ध्यान दिनुपर्ने विचार राख्नुहुन्छ । “पहिले लटरम्म स्याउ फल्ने तल्लो मुस्ताङमा स्याउ फल्न छाड्यो, चरिचरनमा मिचाहा नयाँ नयाँ झार देखिन थाले,” डा कडरिया भन्नुहुन्छ, “हामीले यो समस्या सुल्झाउन अहिले नै व्यवहार परिवर्तन गर्न जरुरी छ, विकसित देशहरूलाई सचेत बनाउन जरुरी छ । ठुलो लगानी गरी यसका असरको मुकाबिला गर्न कठिन हुन्छ ।”
ट्रेकिङ व्यवसायी धर्मराज पन्थी हिमाल हेर्न नेपाल आउने पाहुना कालापत्थर जस्ता हिमाल हेरेर दिक्क हुने गरेको सुनाउनुहुन्छ । जलवायु परिवर्तनले पदयात्रा पर्यटनमा समेत चुनौती थपेको उहाँको भनाइ छ । “अनेक चुनौती थपिएका छन्, नयाँ थपिएका रुटमा मुख्य समस्या खानेपानीकै छ,” उहाँ भन्नुहुन्छ ।
पोखरामा मङ्सिर २३ गतेबाट सुरु भएको पर्वतीय महोत्सव बिहीबार सकिएको छ । नेपाल पर्वतारोहण सङ्घ र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले संयुक्त रूपमा आयोजना गरेको महोत्सव अवधिमा सङ्ग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि भएका छन् ।
महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । अरू आममहोत्सवभन्दा पृथक् र विशिष्ट पर्वतीय महोत्सव पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, सङ्ग्रहालय जस्ता विषयमा रुचि राख्नेहरूले हेरेको सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने सुनाउनुहुन्छ । पाँच दिने महोत्सवमा ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।
महोत्सवको पर्वतीय जीवन, अनुकूलन र भविष्य, पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरूले अभिमत राखेका छन् । पहाडी क्षेत्रमा शौचालयको महìव प्रकाश पारिएको महोत्सवमा अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे समेत छलफल भएको छ । पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।